स्थानिय कर्मचारी सेवा विधेयक यथास्थितिमा अनुमोदन भए अन्दोलन गर्ने चेतावनी

सुर्खेत । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
स्थानिय कर्मचारी सेवा विधेयक अनुमोदनका लागि प्रदेश सभामा टेबुल हुने क्रममा रहेको जानकारी प्रप्त भएको जनाउँदै समितिले आज एक विज्ञप्ती जारी गरी आन्दोलनको चेतावनी दिएको हो । प्रदेश सचिव मान बहादुर बुढाथोकी र प्रदेश संयोजक विक्रम शाहीद्वारा संगुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा कर्णाली प्रदेशले उठाएका माग तथा मुद्दाहरु र अन्य प्रदेशले समेत अवलम्बन गरेका प्रमुख व्यवस्थाहरुलाई बेवास्ता गरेको जनाईएको छ ।
कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरुको गठन, संचालन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ कर्णाली प्रदेश मामिला समितिमा छलफलमा रहेको कुरा सर्वविदितै भएको उल्लेख गर्दै, उक्त विधेयकमा स्थानीय तहका कर्मचारीहरुको उत्प्रेरणा, मनोवल तथा वृतिविकास सँग प्रत्यक्ष रुपमा जोडिएका मुख्य प्रावधानको वेवास्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सेवाको सुरक्षाको लागि कडा आन्दोलन गर्नुपर्ने उल्लेख गर्दै समितिले कर्णाली प्रदेश अन्तर्गत सम्पुर्ण ७९ वटै स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई आन्दोलनका लागी तयारी अवस्थामा रहन अपिल समेत गरेको छ ।
यता प्रदेश मामिला समितीका सभापती कल्याणी खड्काले विधेयक अनुमोदन गर्नु पुर्व अन्तिमरुप दिन समितिमा निरन्तर छलफल भईरहेको बताउनुभयो । तत्कालै अनुमदोनका लागी प्रदेशसभामा टेबुल हुने सम्भावना नरहेको बताउँदै सभापति खड्काले संसोधन प्रस्ताव धेरै परेको र केही बुदाँहरुमा सहमति हुन बाँकी रहेको बताउनुभयो ।