असोज १६, सुर्खेत । कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी २ सय ५९ जनाको मृत्यु भएको छ । भने ९ सय १४ जना सवारी दुर्घटनाबाट घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १ सय ३१, २०८०÷८१ मा १ सय १२ र चालु आर्थिक वर्षको हालसम्म १६ जनाको सवारी दुर्घटना मृत्यु भएको छ ।
यी मध्ये अधिकांश घटनाहरू कर्णाली राजमार्ग र त्यसका सहायक मार्गमा भएको प्रहरीको भनाई छ । पहाडी जिल्लामा सवारी दुर्घटनामा धेरैको मृत्यु हुनुमा समयमा उपचार नपाउनु, समयमा उद्दार नहुनु जस्ता समस्या रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवम सुचना अधिकारी हरी वि.सीले कर्णाली रैबारसँग बताउनुभयो । उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप सुदृढिकरण गर्नको लागि विविध जनचेतनामूलक कार्यक्रम एवम् अभियानहरु संचालन गर्दै आएको बताउनुभयो ।
अभियान अन्तर्गत बिभिन्न सडक खण्डमा पार्किङ, नो–पार्किङ, हर्न निषेध, दुर्घटना ग्रस्त क्षेत्र, रोक्न निषेध लगायतका बिभिन्न स्थानहरुमा ट्राफिक संकेत बोर्डहरु राख्नुका साथै दुर्घटनाहरु हुने सम्भावित स्थानहरुको पहिचान गरी उक्त स्थानहरुमा सचेतनामूलक ट्राफिक संकेत, चिन्हहरू उल्लेख गरिएका बोर्डहरू राख्ने, मादक पदार्थ सेवन सम्बन्धी सचेतनामूलक कक्षा संचालन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको सुचना अधिकारी हरी वि.सीले बताउनुभयो ।
चाडवर्पको बेला हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न यात्रु साहयत कक्ष निमार्णको लागि कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय दशवटै जिल्लालाई परिपत्र गरिसकेको छ ।