विरेन्द्रनगरको बुलबुले कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना

नवराज रोकाय, कार्तिक ५ – सुर्खेतको विरेन्द्रनगरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले सुर्खेतको विरेन्द्रनगरमा रहेको बुलबुले कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।

प्रयोगशालाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रयोगशालाको उद्घाटन गर्नुहुदै कर्णाली प्रदेशका भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री विनोद कुमार शाहले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने सरकारको योजना रहेकोले प्रयोगशालाले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पनि विषादी परिक्षणका लागि पूर्वाधारको काम गरिरहेको बताउनुभयो । सल्यानको कपुरकोट र सुर्खेतको हर्रे नाकामा विषादि प्रशिक्षण केन्द्र निमार्ण गर्ने तथा कानुन निर्माण गरिने गरिएको मन्त्री शाहले बताउनुभयो ।
प्रयोगशालामा तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले बताउनुभयो ।
उहाँले विरेन्द्रनगरको थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार, पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सीमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने बताउनुभयो ।
प्रयोगशाला बाट प्रत्येक दिन नमूना सङ्कलन गरेको पहिलो पटक आधा घण्टा र त्यसपछि उपकरण नियमित रुपमा चल्ने हुँदा तीन÷चार मिनेटमा रिपोर्ट निकाल्न सकिने र विषादीको मात्रा अनुसार तत्काल खानयोग्य, केही समय राखेर खानयोग्य र खान नहुने भनेर छुट्याइने भएको छ ।
परीक्षणका क्रममा तरकारी तथा फलफूलमा खान नहुने गरी विषादी रहेको पाइए त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरिने छ ।