सिम्ताका शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धी क्षमता अभिवृद्धि

जागरण संवाददाता

सुर्खेत ८ कार्तिक।

सुर्खेतको सिम्ता गाउँपालिकामा एकिकृत पाठ्यक्रम सम्बन्धी क्षमता अभिवृद्धि गर्न प्रारम्भिक कक्षाका शिक्षकहरुलाई पाँच दिनेको तालिम दिइएको छ ।

 सिम्ता गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा बिहीबार तालिम सम्पन्न भएको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा सञ्चालित गुणस्तरिय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माण तथा स्थानीय तहको क्षमता विकास सवलिकरण कार्यक्रम अन्तर्गत छनौट गरिएका १५ विद्यालयका शिक्षकहरुलाई तालिम दिइएको शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतमले बताउनुभयो । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै सिम्ता गाउँपालिका सामाजिक विकास संयोजक रामबहादुर नेपालीले शिक्षालाई प्रभावकारी र विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न प्रारम्भिक चरण देखि नै बलियो हुने पर्ने बताउनु भयो । तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु प्रत्येक शिक्षकको दायित्व भएकाले समय सापेक्ष परिवर्तन भएर सिकाउनुपर्ने उहाँले भनाई राख्नु भएको थियो ।

सिम्ता गाउँपालिका सामाजिक विकास संयोजक रामबहादुर नेपालीको प्रमुख अतिथ्यता, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि बहादुर गौतमको अध्यक्षता तथा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत कार्य समिति सदस्य चौहान सिँह, कार्यकारी निर्देशक टिकाराम आचार्य, कार्यक्रम व्यवस्थापक तेज सोनामको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।