दोस्रो जिल्ला सभा आजदेखि शुरु

सुर्खेत, ३१ असार (जागरण) । जिल्ला समन्वय समिती सुर्खेतको दोस्रो जिल्ला सभा आजदेखि शुरु भएको छ । सभामा चालु आर्थिक वर्षमा भएको आर्थिक प्रगति विवरण पेश भएको छ ।
समितीका अनुसार यो अवधिमा २ करोड १४ लाख ७३ हजार रुपैँया खर्च भएको छ । समन्वय समितीका लागि ३ करोड ७० लाख ५३ हजार निकासा भएको थियो । समन्वय समितीका प्रमुख छविलाल सिग्देलले चालु आर्थिक वर्षमा ढुङ्गा, गिट्टी र बालुवाबाट १ करोड ८४ लाख ५८ हजार ३ सय ८८ रुपैँया आम्दानी भएको जानकारी दिनुभयो ।

समन्वय समितिले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रम समेत ल्याएको छ । आगामी दिनमा समन्वय समितिले ५० लाख भन्दा माथिका योजनाहरुको अनुगमन गरिने जनाएको छ । यस्तै, स्थानीय तहहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रमुख सिग्देलले बताउनुभयो ।

यस्तै सभामा जिल्ला सभा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा पनि पेश गरिएको छ । जिल्ला सभाको बैठकलाई व्यवस्थित, मर्यादित र अनुशासित रुपमा संचालन गर्नका लागि मस्यौदा तयार गरेकोे छ । समन्वय समितिलाई केन्द्र सरकारले बजेटको अख्तियारी नदिएकोले आगामी आर्थिक वर्षका लागि बजेट सभामा पेश गर्न नसकिएको बताईएको छ ।
सभाको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री दल रावलले विकास आयोजनाको प्रभावकारी अनुगमन गर्न समन्वय समितीलाई सुझाव दिनुभयो ।
सोही अवसरमा भौतिक पुर्वाधार मन्त्री खड्गबहादुर खत्री, प्रदेश सांसदहरु पद्मा खड्का, यज्ञबहादुर बीसी र अमृता शाहीले जिल्ला समन्वय समितीलाई स्थानीय सरकारको अभिभावकका रुपमा काम गर्न सुझाव दिनुभयो ।