सुर्खेत। चिङ्गाड गाउँपालिकामा प्रथम अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता शनिबार देखि सुरू भएको छ ।
चिङ्गाड खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा चिङ्गाड गाउँपालिकासहित सुर्खेतको चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, दैलेखको गुराँस र भगवतीमाई गाउँपालिका तथा सल्यानको दार्मा गाउँपालिका र वनगाड कुपिण्डे नगरपालिकाको सहभागिता रहेको छ ।
कार्यक्रमको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उदघाटन गर्नुभएको हो । उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री भण्डारीले खेलकुद र साँस्कृतिक खेलनाचहरूले समाजमा एकता र सद्भाव कायम गर्ने बताउनुभयो । मन्त्री भण्डारीले खेलकुद र पुराना सँँस्कृति जर्गेना गर्ने प्रदेश सरकारको नीति तथा योजना रहेको उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य कृष्ण बहादुर जिसीले चिङ्गाडको संसृति जर्गेनाका साथै विकासका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले चिङ्गाड क्षेत्र कला संस्कृति खेलकुदका हिसाबले धनी रहेको बताउदै यसको संरक्षणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेरहेको बताउनुभयो ।प्रतियोगिता लिगकम नकआउट विधिबाट खेलाइने र मंसिर ४ गते सम्मपन्न हुने खेलकुद विकास समितिका संयोजक टोप बहादुर बिसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार ५५, द्वतीय पुरस्कार १ लाख ११ हजार ११ र तृतीय पुरस्कार ६५ हजार ५५५ रहेको छ ।
कार्तिक शुक्ल पूर्णमाका अवसरमा हरेक बर्ष लाग्ने ठाँटीमा मेलाको अवसरमा विगत केहि बर्षदेखि भलिवल तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको छ ।
प्रतियोगिताको उदघाटनका अवसरमा स्थमनीय पञ्चेवाजा, पैसरी, गर्रा लगायत झाँकीहरूको प्रदर्शन गरिएको थियाे ।