मंसिर ७, सुर्खेत
डोल्पाका दुई वटा स्थानीय तहमा किशोरी सशक्तीकरण परियोजना लागु भएको छ ।
प्लान इन्टरनेसनल नेपाल र स्याक नेपाल संस्थाको सहकार्यमा डोल्पाको ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा उक्त परियोजना लागु गरिएको हो ।
शुक्रबार विरेन्द्रनगरमा एक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गर्नुुुहुँदै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले किशोरीहरूलाई सशक्त बनाउनका लागि यस्ता परियोजनाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै किशोरीहरूको शिक्षामा पहुँच, लैङ्गिक समानता र आर्थिक सशक्तिकरणका पक्षमा प्रदेश सरकारको पुर्णरुपमा साथ रहने बताउनुभयो ।
सन् २०२४ सेप्टेम्बर देखि २०२७ अगस्ट सम्म सञ्चालन हुने उक्त परियोजना कार्यान्वयनका क्रममा प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, सेवाप्रदायक स्वास्थ्य संस्था, अभिभावक, धार्मिक, सामाजिक, सांस्कृतिक अगुवा, महिला स्वास्थ्य स्वयमसेविकासँग सहकार्य गरिने प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विज्ञ विनय ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीका अनुसार दुई पालिकाका २० वटा विद्यालय, १० वटा स्वास्थ्य संस्थालाई परियोजनाले लक्षित गरेको छ ।
स्वास्थ्य संस्था तथा विद्यालयको संस्थागत विकास एवम् सुदृढिकरणमा सहयोग पु¥याउने, स्वास्थ्य सेवा प्रदायक, शिक्षक, अभिभावक, परम्परागत तथा धार्मिक अगुवाहरु, सञ्चारकर्मीसँग सहकार्य गर्ने, क्षमता अभिवृद्धि तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, लैङ्गिक रुपान्तरण, सशक्तिकरण र किशोरीहरुमा अन्तरनिहीत शक्तिको विकास गर्ने अवधारणा सहित परियोजना लागु गरिएको स्याक नेपालका अध्यक्ष मीना कुमारी तिवारी शर्माले बताउनुभयो ।
यस्तै स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यका अनुसार किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्यबारे ज्ञान र दृष्टिकोण सुधार गर्ने, परिवार तथा समुदायमा किशोरकिशोरी यौन तथा प्रजना स्वास्थ्य अधिकारबारे बुझाईमा सुधार गर्ने, स्थानीय सरकारद्वारा विद्यालय तथा स्वास्थ्य संस्था मार्फत बृहत यौनिकता शिक्षा र किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्ने, किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुनिश्चित गर्न स्थानीय साझेदारी मार्फत संस्थाको क्षमता विकास गर्ने उद्देश्य परियोजनाले राखेको छ ।
डोल्पाका किशोरी तथा युवा महिलाहरूलाई आफ्नो यौन तथा प्रजनन स्वास्थ्य अधिकार उपभोग गर्न सक्षम बनाउने परियोजनाको उद्देश्य रहेको छ ।
डोल्पामा यार्सागुम्बा संकलनको सिजनमा किशोरी तथा युवा महिला यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जोखिम न्यूनीकरण सत्र सञ्चालन, यसका बारेमा सञ्चालकर्मीहरूको क्षमता विकास गर्न तालिम प्रदान गर्ने, यौन तथा प्रजनन स्वास्थ्य मेला आयोजना, यसका विषयमा परम्परागत धार्मिक अगुवा, नेताहरूलाई अभिमुखीकरण, अन्तरपुस्ता संवाद सञ्चालन जस्ता क्रियाकलाप परियोजना मार्फत गरिनेछ ।
उक्त अवधिमा परियोजना कार्यान्वयनका लागि १७ करोड २६ लाख १४ हजार ५सय ३१ रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसको सम्पूर्ण आर्थिक सहायता प्लान इन्टरनेसनल नेपाल मार्फत हुने भएको छ ।