तीन जना निर्विरोध भएपछि अब ४१ पदको लागि उपचुनाव हुदै

मंसिर ८, काठमाण्डौ । पालिकाका ४४ रिक्त पदमध्ये अब ४१ पदका लागि मात्रै मतदान हुने भएको छ । तीन जना निर्विरोध भइसकेकाले ३३ जिल्लाका ४१ ठाउँमा आउँदो १६ गते मतदान हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जना चुनावी मैदानमा कायम भएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको हो ।
चुनाव चिन्हसमेत पाइसकेपछि दल र उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा र चासो चाहिँ कीर्तिपुरमा छ । नगरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित छ ।
कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादीले प्रा.डा.शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा बनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीको साथ लिएर उम्मेदवारी दर्ता गरेको हो । माओवादीको उम्मेदवारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको पनि साथ छ । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी (नयाँ शक्ति) पनि प्रतिस्पर्धामा छन् ।