भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्धारित समय अगाबै निर्माण

जागरण संवाददाता

सुर्खेत १० मंसिर ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्धारित समय अगाबै निर्माण सम्पन्न भएको छ । दुई बर्षभित्र भवन निर्माणका सक्नेगरी भेरीगंगा नगरपालिका र इन्द्रधनु अछाम निर्माण सेवा टिकापुरबीच २०८० बैशाख १० गते सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब पाँच महिना अगाबै काम सम्पन्नगरी भवन हस्तान्तरण गरेको हो ।
छिञ्चुमा नव निर्मित भवनको आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटनका क्रममा मुख्यमन्त्री कंडेलले भवन आश्यक भएपनि त्यसभन्दा महत्वपूर्ण सेवा प्रवाह गर्ने तौरतरिका हुने भन्दै सहज र सरल रुपमा सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।


मुख्यमन्त्री कंडेलले नागरिकहरुले सहज रुपमा प्रभावकारी सेवा खोजेको स्मरण गराउँदै नागरिकको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहहरुले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । उद्घाटनका क्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिब बिक्रम शाहले सिमित स्रोत साधन भएपनि त्यसबाट बन्ने योजनहरुको समयमा कार्यान्वयन हुनसके सकरात्मक प्रभाव पर्ने बताउनुभयो । प्रदेशसभा सदस्य कृष्ण बहादुर जिसीले विगतको भन्दा विकास र निर्माणका हिसाबले परिवर्तन भएपनि नागरिकमा रहेको तिब्रको चाहानालाई पूरा गर्न सबै तहका सरकारले हातेमालो गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले नयाँ भवन निर्माणसँगै एकीकृत सेवा प्रवाहमा सहज भएको बताउनुभयो । विगतमा भवनको अभावभा ठाउँ ठाउँबाट सेवा दिँदै आएकोमा अब नयाँ भवनबाट व्यवस्थित रुपमा सेवा प्रवाह गरिने नगर प्रमुख ढकालले बताउनुभयो । आगामी दिनमा भवनजस्तै राम्रो मुस्कानसहितको सेवा दिने पनि उहाँको भनाइ छ ।
भवन निर्माणका लागि नगरपालिकाले भ्याटसहित १० करोड ३२ लाख ८२ हजारमा बोलपोत्र आह्वान गरेकोमा ६ करोड ५२ लाख ८५ हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।
भवनमा आगलागी भएमा आगलागी सूचना दिने तथा अग्नी नियन्त्रक यन्त्र जडान गरिएको छ। नयाँ प्रशासकीय भवनसँगै नागरिक सहयता कक्ष, स्वास्थ्य सहयता कक्ष पनि सञ्चालनमा ल्याइएको छ । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट ३ करोड र भेरीगंगा नगरपालिकाको आफ्नै सहलगानी रु ३ करोड ५२ लाख ८५ हजार रहेको छ ।