सुर्खेत, २ चैत (जागरण) । वीरेन्द्रनगर उपत्यकाका धाराहरुमा अबको दुई वर्षभित्र भेरी नदिको पानी आउने भएको छ ।
सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी संकट समाधानका लागि भेरी नदिको पानी ल्याउने प्रक्रिया अघि बढाएको हो ।
आज वीरेन्द्रनगरमा भएको संस्थाको १७ औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष कुलमणी देवकोटाले यस्तो जानकारी गराउनुभएको हो ।
दिर्घकालिन समस्या समधानका लागि भेरीको पानी उपत्यकामा ल्याउनका लागि यसै आर्थिक वर्षमा डिपिआर तयार गरेर निर्माण कार्य थालनी गरिसक्ने देवकोटाले बताउनुभयो ।
संस्थाकाअनुसार सुर्खेत उपत्यका भेरी पम्पिङ्ग आयोजनाका लागि सम्भाव्यता संरक्षण गर्न प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ ।
साधारणसभाको उद्घाटन गर्दै कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले खानेपानीको समस्या समधानका लागि अब सरकारले नै जिम्मा लिनु पर्ने बताउनु भयो ।
उहाँले खानेपानीको समस्या समधानका लागि एउटा संस्थाले मात्र एक्लै गर्न नसक्ने भएकाले प्रदेश र संघिय सरकारले सहयोग गर्ने बचन दिनुभयो ।