मंसिर १३, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । हिजो खाँडाचक्र नगरपालिकालाई पत्र लेख्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाहीलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।
नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले प्रशासन शाखा अधिकृत छैटौं तहमा कार्यरत शाहीले आफूलाई आफैं सातौं तहमा बढुवा गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजङ्ग शाही हुँदाहुँदै अधिकृत छैंटौं तहका अविराज शाहीले आफ्नो पदस्थापन र बढुवा आफैँ तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अवैध पत्र पठाएर कार्यकारी नियुक्त भएका थिए । सबैतिरबाट विरोध आएपछि मन्त्रालयले शाहीलाई जिम्मेवारीबाट हटाएको हो ।
यसअघि २०७९ सालमा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत रहँदा अविराज शाहीले श्रीमतीलाई आफैं नियुक्ति दिएर जागिर खुवाएको आरोप लागेको थियो । उनले २०७८ साल फागुन १ गतेदेखि तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौंमा श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएर आफैं हाजिर लगाउने र तलब भत्ता श्रीमतीको खातामा जानेसम्म मिलाएका थिए ।