पहाड र तराईका केही ठाउँमा हुस्सु

मंसिर १३, काठमाण्डौ । देशका पहाडी र तराई भेगका केही ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । यसैगरी आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आउँदो २४ घण्टामा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपात हुनसक्ने भएकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।