रित पुर्याउनका लागि मात्रै दोस्रो पञ्चवर्षीय गुरुयोजनाको काम नभएको ः मुख्यमन्त्री कँडेल

मंसिर १५, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेश योजना आयोगले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले यो दस्तावेज कर्णालीको नीति, कार्यक्रम र बजेटको प्रतिविम्ब हुनुपर्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कँडेलले स्थानीयभन्दा अन्यत्रबाट आएका निर्माण व्यवसायीले तोकिएको समयमै काम नगर्दा प्रदेश सरकारलाई समस्या मात्र भएको छैन । त्यसबाट गलत सन्देश गएको बताउनुभयो ।
उहाँले दोस्रो पञ्चवर्षीय योजना लागु गर्ने तयारी पनि भइरहेको छ । त्यसका लागि प्रदेश योजना आयोगले विभिन्न निकायसँग छलफल चलाइरहेको छ । उहाँले रित पु¥याउनका लागि मात्रै दोस्रो पञ्चवर्षीय गुरुयोजनाको काम नभएको बताउनुभयो । सकेसम्म आफ्नो कार्यकालमा राम्रो काम गरिने तर नराम्रो नगर्ने उहाँको भनाइ छ । उक्त योजना सबैका लागि बाटो देखाउने दस्ताबेज भएकाले सोही अनुसार सरकार अघि बढ्ने उहाँको भनाइ छ ।
यस्तै कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले प्रदेश सरकारले राम्रो काम गर्दा गर्दे पनि बारम्बार उठ्ने प्रश्नले समस्या जस्तो देखाएको र त्यसको सम्बोधनमा सरकार लागि परेको स्पस्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमाका आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारूप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषयहरू, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रम लगायतका विषय प्रस्तुत गर्नुभएको थियो ।