सुर्खेत, १६ मंसिर ।
राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद शर्माले अपांगता भएका व्यक्तिहरुका लागि राज्यले गरेको लगानी प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसका अवसरमा आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिहरुको निर्णायक प्रक्रियामा अर्थपूर्णसहभागिता नहुँदा राज्यले गरेको लगानी प्रभावकारी हुन नसकेको जिकिर गर्नुभएको हो । अपांगता भएका व्यक्तिहरुका लागि राज्यको लगानी निकै न्यून रहेको त्यो पनि अपांगता भएका व्यक्तिहरुका आवश्यकता एकातिर राज्यले गर्ने लगानी अर्कातिर हुँदा उचित नतिजा नदेखिएको अध्यक्ष शर्माको भनाई थियो । कुनै पनि व्यक्ति जुनसुकै बेला पनि अपांगता हुनसक्न भएकाले अपांगता हुनबाट रोक्ने खालका कार्यक्रममा सरकारहरुले लगानी बढाउनुपर्ने उहाँले माग राख्नुभयो । अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी सन २००६ मा नेपालले पक्ष राष्ट्रका रुपमा हस्ताक्षर गरेपनि त्यसको परिपालनामा राज्यले व्यवास्ता गरेको अध्यक्ष शर्माको भनाई छ । अपांगताका क्षेत्रमा बनेका नियम कानुनका पनि इमान्दारिता पूर्वक कार्यान्वयन नभएको उहाँले गुनासो गर्नुभयो । भवनसंहिता २०६९ ले हरेक सरकारी निकायका भौतिक संरचना अपांगमैत्री हुनुपर्ने प्राब्धन उल्लेख गरेको भएपनि पछिल्लो समय निर्माण भइरहेका पालिकाका प्रशासनिक भवन लगायत भौतिक संरचना निर्माणमा उक्त व्यवस्थाको व्यवास्ता गरिएको प्रति अध्यक्ष शर्माले चिन्ता व्यक्त गर्नुभयो ।