मन्त्रालय बीचको समन्वय अभावले अपांगता सम्बन्धी कार्यविधि तयार गर्न ढिलाइ भएको : मन्त्री भण्डारी


नवराज रोकाय
मंसिर १७, सुर्खेत
३३ औं अन्तराष्ट्रिय अपांगता दिवशको पूर्वसन्ध्यामा आज सुर्खेतको बिरेन्द्रनगरमा अपांगता भएका व्यक्तिहरूको अधिकार, चुनौती र अवसरबारे सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले अपांगता भएका व्यक्तिहरूले सार्वजनिक सेवामा पर्याप्त पहुँच नपाएको र रोजगार, शिक्षा, स्वास्थ्य तथा यातायातमा सुविधा अभाव रहेको गुनासो गरेका छन्। ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ऐन र नियमावलीमा रहेको व्यवस्था अनुसार मन्त्रालयले अपांगता सम्बन्धी कार्यविधि तयार पार्न केहि ढिलाइ भएको स्वीकार गर्नुभयो । मन्त्री भण्डारीले कार्यविधि मन्त्रीपरिषद् समक्ष पेश भइसकेको र अब चाँडैनै मानसिक स्वास्थ्य सम्बन्धी रणनीति तयार गरी अपांगता सम्बन्धी कार्यबिधि पारीत गरीने जानकारी दिनुभयो ।

प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले योजना निर्माणका क्रममा अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न उपयुक्त योजना तयार गरीने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्यहरू पूर्णबहादुर खत्री र इन्द्रा कुमारी शाहीले सहभागीहरूले उठाएका सुझावलाई प्रदेश सरकारका आगामी योजना र नीतिमा समावेश गर्न पहल गरिने बताउनुभयो ।

“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने नाराका साथ आयोजित कार्यक्रममा राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद शर्माले अपांगता भएका व्यक्तिहरूको निर्णायक प्रक्रियामा अर्थपूर्ण सहभागिता नहुँदा राज्यले गरेको लगानी प्रभावकारी हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको हकहितका लागि नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, पहुँचयुक्त पूर्वाधार निर्माण गर्ने, तथा उनीहरूको जीवनस्तर सुधार गर्ने उपायहरूमा छलफल गरिएको थियो ।