वीरेन्द्रनगरमा महायज्ञ, आश्रय विहीनलाई आश्रय दिन ५ करोड संकलनको योजना

नवराज रोकाय

मंसिर १९, सुर्खेत

मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा आश्रयविहीनको सहयोगका लागि महायज्ञ आयोजना हुने भएको छ । मानव सेवा आश्रमको स्थायी भवन निर्माण गर्न महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
आज पत्रकार सम्मेलन मार्फत महायज्ञ आयोजक समितिका संयोजक डा नवराज केसीले भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ मा गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराएको बताउनु भयो । कर्णाली प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको भए पनि बाँकी रकम जुटाउन महायज्ञ आयोजना गरिएको हो ।
मानव सेवा आश्रम हाल भाडाको भवनमा सञ्चालनमा रहेको छ । २०७५ माघदेखि भाडाको घरबाट सेवा दिइरहेको आश्रमले अहिलेसम्म ४ सय ६ जना बेसहारा व्यक्तिलाई उद्धार गरिसकेको छ ।
महायज्ञका आकर्षणमा प्रमुख कथावाचक भागवत भाष्कर कमलनयन गौतम, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, योग कार्यक्रम र मानवता प्रवद्र्धन प्रशिक्षण समावेश गरीएका छन् भने कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सन्दुक रुइत लगायत महायज्ञमा सहभागी हुने आयोजनक ले जनाएको छ ।
मानव सेवा आश्रमले ०८२ सालसम्म नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ । मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीका अनूसार अहिले सम्म १०,६८७ बेसहारा व्यक्तिहरूको उद्धार गरिएको छ । आश्रमले मानवता अध्ययन केन्द्र पनि स्थापना गर्ने योजना बनाएको छ ।
महायज्ञबाट ५०० देखि १ करोड रुपैयाँसम्म योगदान दिने दाताहरूलाई विशेष सम्मान गरिनेछ । १ करोड योगदान गर्नेको नाममा ब्लक निर्माण गरी शालिक स्थापना गरिनेछ भने अन्य योगदान अनुसार सभाकक्ष, भान्सा र भोजन कक्षको नामकरण गरिने भएको छ । महायज्ञले समाजमा सेवा, सहयोग र मानवताको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।