मंसिर २०, सुर्खेत । कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि छलफल गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको अध्यक्षतामा भएको छलफलमा मुख्यमन्त्री यमलाल कँडेलले कृषि विकास रणनीतिक दस्ताबेजले कर्णालीको सुन्दर भविष्य बोकेको बताउनुभएको छ ।
मुख्यमन्त्री कँडेलले दस्ताबेज बनाएर मात्रै नहुने भन्दै दस्ताबेजमाथि सरकार र कर्मचारीहरु जिम्मेदवार बनेर कार्यान्वयनमा लैजानु पर्ने बताउनुभयो । कर्णालीमा पछिल्लो समय बाँझो जग्गाको प्रतिशत बढेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँझो जग्गामा खेती गरेर कर्णालीको कृषिमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले कृषि विकास रणनीतिमा उल्लेख गरिएका विषयबस्तुहरु सुन्दर भएका र तिनलाई विश्वसनीयता बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री कँडेलले कर्णालीको कृषि परमुखी भएको बताउँदै यसलाई तत्काल सुधार गरेर अगाडी बढ्न पनि सुझाव दिनुभयो ।
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री कँडेलले दिएका सुझावहरु सकरात्मक भएको बताउनुभएको छ । मन्त्री शाहले कर्णालीको समृद्धि कृषिबाटै गर्न आवश्यक रहेको बताउनुभयो ।
यसअघि वीरेन्द्रनरमा कृषि मन्त्रालयले कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरु तथा अन्य कर्मचारीहरुसँग बृहत छलफल समेत गरिसकेको छ ।