मंसिर २५, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ । गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ, जसले चिसो बढाएको छ । हिमपातले चिसो बढेको कारण मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तर खडेरीका कारण सुक्न लागेको हिउँदेबालीलाई वर्षा र हिमपातले सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।
बिहानैदेखि हिमपात हुँदा यहाँको तापक्रम घटेको छ । जुम्लामा न्यूनतम तापक्रम घटेर माइनसमा झरेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ । अधिकतम तापक्रम भने १४ दशमलव ७ डिग्री सेल्सियस छ । कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा दैनिक रुपमा नेपालगन्जदेखि हुने हवाई उडानसमेत प्रभावित भएका छन् ।
सोमबार नेपालगन्जमा पहाडी तथा हिमाली जिल्लामा कुनै पनि उडान भएनन् । मौसम प्रतिकुल नहुँदा उडान भर्न नसकिएको नेपालगन्ज विमान स्थल सुरक्षाकर्मीले जनाएका छन् । हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि हिमपात हुँदा घर बाहिर निस्किनसमेत समस्या भएको हुम्लाका जनक शाहीले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा मौसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध छ ।