काठमाण्डौँ, २ चैत (जागरण) । मधेसवादी दल पनि सरकारमा आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थप्नुभएको छ ।
प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ । देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो ।
तर, तीन तिहाइको सरकार निर्माणमा अग्रसर प्रम ओलीले मधेसवादी दलका लागि मन्त्रालय थप्ने निर्णय गर्नुभएको हो ।
थपिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । यी मन्त्रालय हाल रहेका मन्त्रालय फुटाएर बनाइएको हो ।
ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ । जस अनुसार अबबाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन् ।
त्यसैगरी ओली सरकारले श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाएको छ । अबबाट श्रम तथा रोजगार र महिला तथा बालबालिका फरक फरक मन्त्रालय हुने भएका छन् ।
दलहरुबीच भागबन्डा मिलाउने नाममा मन्त्रालय टुक्राउन नहुने विज्ञहरुले सुझाव दिएका छन् । धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गइसकेको भन्दै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन् ।
आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि भएका नयाँ मन्त्रीहरुले आज सपथ ग्रहण गरेका छन् ।
एमालेले ६ मन्त्री र एक राज्यमन्त्री छानेको हो । यस्तै माओवादी केन्द्रबाट पाँच नेताहरु मन्त्री बनेका छन् ।
ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्नुभएको छ भने अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द्र अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्नुभएको छ भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
काभ्रे २ बाट निर्वाचन जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्नुभएको छ । मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी बास्कोटालाई राज्यमन्त्री बनाइएको हो । यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उहाँलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बन्नुभएको छ । उहाँ यसअघि अर्थमन्त्री भइसक्नुभएको थियो ।
गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुनुहुन्छ भने बस्नेत पूर्वगृहमन्त्री हुनुहुन्छ । यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्नुभएको छ ।