सुर्खेत, ५ पुस ।
व्यवसाय तथा मानव अधिकार राष्ट्रिय कार्ययोजना (न्याप) को कार्यान्वयन गर्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले कार्यायोजना बमोजिम प्रादेशि समितिको बैठक बसेर कार्यान्वयन प्रक्रिया थालनी गर्ने प्रतिबद्धता जनाउनुभएको हो । संघीय सरकारले निर्माण गरेको व्यवसाय तथा मानव अधिकार राष्ट्रिय कार्ययोजना २०८० अनुसार प्रादेशिक स्तरमा कार्यान्वयनका लागि हरेक प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा एक समिति हुने व्यवस्था छ । कार्ययोजनामा उल्लेखित व्यवस्था बमोजिम समितिलाई सक्रिय बनाई तत्कालै बैठक बसेर कार्यान्वयनको थालनी गर्ने प्रमुख सचिव पौडेलले प्रतिबद्धता जनाउनुभयो । उपभोक्ता हित संरक्षण गर्नका लागि आम उपभोक्तामा सचेतना अभिबृद्धि गर्न आवश्यक भन्दै पौडेलले सबैसँग समन्वय सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष अधिवक्ता ज्योति बानियाले उपभोक्ताप्रति व्यवसायी र उत्पादक जिम्मेवार हुनुपर्ने बताउनुभयो । स्वच्छ, गुणस्तरीय वस्तु उपभोग गर्न पाउनु उपभोक्ताको मानव अधिकारको विषय भएको भन्दै अध्यक्ष बानियाले त्यसका लागि उत्पादक र व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । उपभोक्ताको हित संरक्षणका राज्यसँगै व्यवसायीको पनि दायित्व हुने उहाँले उल्लेख गर्नुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले स्वच्छ वस्तु उपभोग गर्न पाउने उपभोक्ताको नैसर्गिक अधिकार रहेको बताउनुभयो । उपभोक्ताहितका लागि उपभोक्तामा सचेतनासँगै व्यवसायी एवं उत्पादकमा इमान्दारिता हुनुपर्नेमा थापाले जोड दिनुभयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) फिल्ड कार्यालय सुर्खेतकी सजनी चौधरीले व्यवसायमा मानव अधिकार सम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । जनस्तरसम्म सचेतना अभिबृद्धिका लागि सरकार र सरोकारवालहरुसँग सहकार्य गर्न यूएनडिपी तयार रहेको उहाँले बताउनुभयो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले उपभोक्तामूखि उत्पादनले मात्रै व्यवसायमा दिगोपना हुने बताउनुभयो । मानव अधिकारको संरक्षण हुनेगरी व्यवसाय गर्न प्रवद्र्धनका लागि सरकारसँगै निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।