भुकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण नहुदा पीडित परिवार लाई जाडोमा थप समस्या

६ पुस, सुर्खेत । गत वर्षको कात्तिक १७ गतेको भूकम्पले घर क्षतिग्रस्त भएका सर्वसाधारणले नयाँ घर बनाउन पाएका छैनन् । उनीहरूले पुनर्निर्माणका लागि रकम पनि पाउन सकेका छैनन् । जाजकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त निजी आवास बनाउन नसकेपछि पीडित समस्यामा परेका हुन् ।
भूकम्पले ढलेका घर बनाउन पुनर्निर्माण पर्खिबसेका पीडित अवस्था बिजोग भएको छ । भूकम्प गएको १३ महिना बिते पनि आवास बनाउन नसकेपछि चिसो मौसममा जस्ताको छानामुनि बस्नु परेको छ । श्रम रोजगारीबाट जीविकोपार्जन गरेका पीडितले सरकारबाट रकम आउला र घर बनाउँला भनी पर्खिबसेपछि निराश छन् ।
भेरी नरपालिका–१ का लिला देवी गौतम विकले घर भूकम्पले भत्किएपछि अहिले जस्ताको टहरामा बस्नु परेको बताउनुभयो । सरकारले पुनर्निर्माणको कामलाई अघि नबढाउँदा निजी लगानीबाट बनाउन नसक्ने अवस्था भएकाले छिटो पुनर्निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै, बारेकोट गाउपालिका ३ का मान बहादुर रोकायाले पनि सरकारबाट रकम पाउला र घर बनाउँला भनेर कुर्दाकुर्दै एक वर्ष नाघेको बताउनुभयो । उहाँले यस वर्षको चिसो पनि जस्तामुनि बिताउनुपर्ने भयो भन्दै दुःखेसो व्यक्त गर्नुभयो ।
यता, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीका अनुसार बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुसे गाउँपालिकामा दोस्रो किस्ताको रकम स्थानीय विपत् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । नलगाड नगरपालिकालगायत अन्य पालिकाबाट दोस्रो किस्ताको रकम माग भएकाले केही दिनभित्र रकम पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय तहले भूकम्पबाट चर्किएका घर भत्काएपछि दोस्रो किस्ताको रकम दिने निर्णय गरेपछि पीडित बिचल्लीमा परेका छन् । सरकारले पुनर्निर्माणको काम अघि नबढाउँदा ज्याला मजदुरीबाट छाक टारेका पीडित आगो तापेर रात बिताउन बाध्य भएका छन् ।