कर्णाली प्रदेशको उत्पादन प्रवद्र्धन गर्न शुभ होटलको बिजनेस एक्सपो ।।

नवराज रोकाय
पुष १२,सुर्खेत,  कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा रहेको शुभ होटल प्रा.ली. ले आगामी अंग्रजी नयाँ वर्ष २०२५ को अवसरमा कर्णाली प्रदेशका रैथाने उत्पादन र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले विशेष बिजनेस एक्सपोट आयोजना गर्न लागेको छ ।
होटलका संचालक पदम बहादुर शाहीका अनुसार, यो प्रदर्शनी पौष १३ गते देखि १६ गतेसम्म संचालन हुनेछ ।
संचालक शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै भने, “हाम्रो मुख्य उद्देश्य कर्णाली प्रदेशका मौलिक उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन गर्नु हो । यस प्रदर्शनी मार्फत हामी कर्णालीका विभिन्न रैथाने उत्पादन र व्यावसायिक अवसरहरूको प्रस्तुतिकरण गर्दै यस क्षेत्रको विकासमा योगदान पुर्याउन चाहन्छौं” ।
यो प्रदर्शनीमा १३ गतेदेखि १५ गतेसम्म निशुल्क प्रबेश र मेला अवलोकनको व्यवस्था गरिएको छ भने १६ गते प्रवेश शुल्कको व्यवस्था गरिनेछ ।
प्रदर्शनीमा ४८ वटा स्टल रहनेछन्, जसको मध्ये १५ वटा स्टल निशुल्क उपलब्ध गराइने पनि संचालक शाहीले बताए । यसले कर्णाली प्रदेशका विभिन्न उद्योगी र व्यवसायीहरूलाई आफ्ना उत्पादनलाई प्रदर्शन गर्ने मौका दिनेछ ।
प्रदर्शनीमा कर्णाली प्रदेशका रैथाने बाली, र स्थानीय खाद्य उत्पादनहरू प्रमुख आकर्षण हुनेछन्। साथै, १३ र १४ गते कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सँग उद्योग र कृषि व्यवसायका समस्याबारे अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिनेछ। यस कार्यक्रम मार्फत कर्णालीका स्थानीय व्यवसायी र सरकारका प्रतिनिधिहरूसँग वार्ता गरेर नितिगत व्यवस्थाका उपायहरू पहिचान गरिनेछ।
कार्यक्रमको एक अन्य आकर्षक पक्ष भनेको सांस्कृतिक र मनोरञ्जनात्मक प्रदर्शनीहरू पनि रहने छ । यस प्रदर्शनीमा राष्ट्रिय कलाकार दीपक लिम्बु र द ज्यापर्स् ब्यान्ड लगायतको प्रस्तुति रहने बताइएको छ ।
कर्णाली प्रदेशका रैथाने उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय व्यवसायीहरूको उत्पादको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।