शुभ होटल एक्स्पो २०२४, उद्योग क्षेत्रलाई प्राथमिकता दिन प्रदेश सरकारसँग व्यवसायीको माग

सुर्खेत, १३ पुस ।
कर्णाली प्रदेशका उद्योगी व्यावसायीहरुले उद्योग सम्बन्धी नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा जोड दिन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उद्योग व्यावसायीहरुले उद्योग क्षेत्रको प्रवद्र्धन गर्ने खालका नीति कार्यक्रम बनाउन सुझाव दिएका हुन् । सुर्खेतको शुभ होटलले शनिबारदेखि आयोजना गरेको विजनेश एक्सपो २०२४ का अवसरमा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले उद्योग व्यवसायमा देखिएका समस्या र समाधानका विषयमा उद्योग मन्त्री अधिकारी र सचिव दीर्घनारायण कोइरालासँग व्यवसायीको अन्तरक्रियाको आयोजना गरेको थियो ।
मन्त्रालयले वनसँग सम्बन्धी कामहरुमा बढी चासो दिएको तर उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण र प्रवद्र्धनमा ध्यान दिन नसकेको उद्योगीहरुले गुनासो गरेका छन् । यस्तै खाद्य वस्तुको प्रवद्र्धन, पर्यटन उद्योगमा देखिएका समस्या सम्बन्धित समधान, पर्यटकीय स्थल रहेका सम्बन्धित पालिकाहरुलाई समेत सहभागी गराएर एकीकृत रुपमा पर्यटनलाई बजारीकरण गर्नुपर्ने लगायतका सुझाव उद्योगीहरुले अन्तरक्रियाका क्रममा राखेका छन् । अन्तरक्रियामा मन्त्री अधिकारीले उद्योगीहरुको सुझावलाई आत्मसाथ गर्दै समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आइतबार कृषि उत्पादनको बजारीकरण तथा कृषि उत्पादन प्रवद्र्धन लगायतका विषयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सविचसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम बहादुर शाहीले बताउनुभयो । कृषि क्षेत्रसंग सम्बन्धित उद्योग व्यवसायमा देखिएका समस्या समाधानका लागि मन्त्रालयसँग छलफलको आयोजना गरिएको शाहीले बताउनुभयो ।
शुभ होटलले पहिलो पटक आयोजना गरेको फुड फेष्टिभल तथा विजनेश एक्सपोमा रैथानी बालीहरुबाट उत्पादित खाद्य वस्तु चिनो, फावर, कागुनो, मार्सी सातु, ओखर, सिमि, मकै, लगायत कर्णालीमा उत्पादित खाद्यवस्तुबाट बनाइएका परिकारहरुको प्रदर्शनी गरिएको छ । यस्तै ऊन र अल्लोबाट बनेका कपडाहरु, थारु खानाका परिकार, खानाका परिकारहरु प्रदर्शनीमा राखिएको होटलका म्यानेर गौरव सावदले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा प्रवेशका साथै अवलोकनका लागि कुनै शुल्क लाग्ने छैन ।

एक्स्पाे पहिलाे दिनका केहि तस्विरहरु