पुष १९ सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको सहजीकरण सुरुगरेको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका मातहत कार्यालयमा गर्ने उदेश्यका साथ प्राङ्गारिक कृषि पाठशाला सञ्चालन अभिमूखीकरण तथा प्राविधिक सहजीकरण सल्यान जिल्लाबाट सुरु गरेको छ ।
बुधबार आज अन्तरक्रिया कार्यक्रममा कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम –सञ्चालन तथा व्यवस्था) कार्यविधी २०८१, मूल्यवान लोगो, कृषक पाठशाला तथा व्याज अनुदानमा भएका कानूनीय व्यवस्थाका विषयमा छलफल गरिएको छ । कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले मन्त्रालयले प्राङ्गारिक कृषि पाठशाला सञ्चालन अभिमूखीकरण तथा प्राविधिक सहजीकरण मूल्यवान लोगो, व्याज अनुदान र कार्यविधीको बारेमा मन्त्रालयले छलफल थालेको बताउनुभयो ।
प्रवक्ता कठायतले सल्यान जिल्लाबाट सुरु गरेर रुकुमपश्चिम, जाजरकोट हुँदै १० वटै जिल्लामा छलफल तथा अन्तरक्रिया गर्ने मन्त्रालयले योजना बनाएको बताउनुभयो । यस्तै, सहजीकरण अन्तरक्रिया कार्याक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्दबहादुर महतले आफ्नो कार्यालयका सबै कार्याक्रमहरुको कार्यान्वयनको अवस्था सन्तोकजनक रहेको बताउनुभएको छ ।
उहाँका अनुसार गत आर्थिक वर्षमा सल्यानमा ५ लाख ६६ हजार बाख्राको संख्या भएकोमा २२ हजार खसी, बोका विक्री गरेर ५७ करोड र १५ हजार लिटर दूधबाट १ करोड ६२ लाख रकम आम्दानी भएको बताउनुभयो ।
स्रोत केन्द्रको अभाव, कार्यालय सञ्चालनको लागि बजेटको अभाव, कार्यविधी समयमै नआउने र एआई कार्यक्रमहरु गर्ने लगायतका समस्या भएको प्रमुख महतले बताउनुृभयो ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले साना सिंचाई, लक्षित वर्ग, व्याज अनुदान लगायतका कार्यक्रमहरु कार्यान्वयनमा गइसेका बताउनुभयो । भूकम्प प्रभावित जिल्लाका लागि कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताउँदै उहाँले कार्यविधीमा स्पष्ट उल्लेख हुनुपर्ने बताउनुभयो ।
अन्तरक्रियामा बोल्दै कृषिमन्त्री विनोदकुमार शाहले सल्यानका किसानहरु मेहनती र लगनशील रहेका बताउँदै कृषि जनशक्ति र किसानकाबीचको समन्वयलाई प्रभावकारी बनाएको खण्डमा कृषिमा थप प्रगति गर्न सकिने बताउनुभएको छ ।