प्रदेश स्तरीय सिकाई आदान प्रदान बैठक सम्पन्न

सुर्खेत । हेम्पल फाउण्डेशनको आर्थिक सहयोग र स्ट्रीट चाइल्ड अफ नेपालको प्राबिधिक सहयोग र आसमान नेपालको साझेदारीमा कर्णाली प्रदेशका बिभिन्न स्थानीय तहमा कार्यान्वयन भइरहेको बिल्ड द बेसि परियोजना अन्तरगत प्रदेश स्तरीय परियोजना अपडेट एवं सिकाइ आदान प्रदान बैठक मंगलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । परियोजना अन्तरगत भएका गतिबिधि, उपलब्धी, सिकाइ र आगामी योजनाका बारेमा सरोकारवालाहरुलाई जानकारी प्रदान गर्ने उद्देश्यले सामाजिक बिकास मन्त्रालयसंगको समन्वयमा गरिएको बैठकमा शिक्षासंग सम्बन्धित बिभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।
बैठकमा परियोजना अन्तरगत सम्पन्न गतिबिधि, उपलब्धी र आगामी योजनाका बारेमा स्ट्रीट चाइल्ड अफ नेपालका कर्णाली फोकल पर्सन जया कोइरालाले प्रस्तुतीकरण गर्नुभएको थियो भने सो माथि छलफल गरिएको थियो । जसमा परियोजना अन्तरगत बिद्यालयहरुमा सिकाइ स्तरमा आधारित शिक्षण बिधिबाट कक्षा सञ्चालन, सल्यानको छत्रेश्वरी गाउँपालिकामा समाबेशी शिक्षाका लागि आपांगता भएका बालबालिको प्रारम्भीक पहिचान, सम्भावित कार्यगत सिमितता र कठिनाई पत्ता लगाउन स्वास्थ्य शिबिर सञ्चालन र थप उपचारका लागि समन्वय सहकार्य, तथा पालिका स्तरीय बालिका तथा समाबेशी शिक्षा सञ्जाल गठनमा पनि सहजिकरण लगायतको कार्य भएको प्रस्तुत गरिएको थियो । छलफलका क्रममा सरोकारवाहरुले बिद्यार्थीको सिकाइ स्तर सुधारका लागि सिकाइ स्तरमा आधारित शिक्षण बिधि प्रभावकारी देखिएको बताए । उनीहरुले शिक्षा संग भएका कार्यहरुलाई सफ्टवेयरमा प्रबृष्टीका लागि पनि समन्वयात्मक भुमिका निभाउन सके उपलब्धी प्रभावकारी हुनेमा जोड दिएका थिए ।
बैठकमा सामाजिक बिकास मन्त्रालयका सचिब दिर्घराज पोखरेल, मानव शंसाधन बिकास केन्द्रका निर्देशक धर्मजित शाही, शिक्षा बिकास निर्देशनालयका निर्देशक दिपा हमाल, शिक्षा बिकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटा, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्का लगायतको उपस्थीति रहेको थियो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत विकास साझेदार संस्थाहरूको सहकार्यमा विकास गरिएको सिकाइ आपुरण तथा दु्रत सिकाइ योजनामा सहयोग गर्नेगरी सञ्चालनमा गरिएको यस परियोजना दोस्रो वर्ष अन्तरगत सल्यानको छत्रेश्वरी र दार्मा तथा जाजरकोटको शिवालय गाउँपालिकामा सञ्चालित छ । परियोजना अन्तरगत तिन वटा पालिकाको १०५ वटा बिद्यालयमा बिद्यालयमा सिकाइ स्तरमा आधारित शिक्षण पद्धति (ट्राल) कक्षाहरु सञ्चालित छ । कक्षा ३ देखि ५ कक्षा सम्म नेपाली र गणित बिषय शिक्षण गर्ने दुई सय ६८ जना शिक्षकहरुलाई सुरुवातमा ८ दिने तालिम प्रदान गरी कक्षाहरु चलिरहेका छन् । परियोजना अन्तरगत सुरुमा बिद्यार्थीको अबस्था पहिचान गरी समुह बिभाजन गरी बिद्यार्थीको स्तर अनुसारका गतिबिधिहरु गराउने गरिन्छ । यस बिधि अन्तरगत रहेका नेपाली र गणित बिषयको शिक्षण गरिन्छ । कक्षा सञ्चालन भएका देखि करिब ४५ दिनको अन्तरमा मध्य मुल्याकंन र ९० दिन पछि अन्तिम मुल्यांकन गरी बिद्यार्थीहरुको सिकाइ स्तर परिर्बन भए नभएको मापन गर्ने गरिन्छ । यो परियोजनाले मधेस र कर्णाली प्रदेशमा विद्यार्थीहरूको सिकाइ क्षतिलाई आपूरण गर्दै विद्यार्थीको सिकाइ स्तरलाई तीव्रता दिन तथा निरन्तर सिकाइ कायम राख्न शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै तथ्यमा आधारित पैरवी र योजना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै कर्णाली र मधेश प्रदेश अन्तरगत ३६ हजार बालबालिकाहरूको सिकाइमा भएको क्षतिलाई आपूरण गर्न नेपालका ६ सय सामुदायिक विद्यालयहरूमा १८ सय शिक्षकहरू मार्फत विद्यार्थीहरूको आधारभूत भाषिक तथा गणितीय सिप सुधारका लागि परियोजनाले मद्दत गर्ने छ ।