शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, हुस्सु र कुहिरोको प्रभाव पर्सि बिहान सम्मै रहने

पौष २५ सुर्खेत , पर्सि शनिवार फेरि पानी पार्ने प्रणाली नेपाल भित्रिँदैछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले कर्णाली, गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा रहने र पर्सि बेलुकीदेखि मौसम बदली हुने महाशाखाले बताएको हो ।

सुर्खेत सहित तराईका धेरै ठाउँमा आज पनि हिजो जस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । यसको प्रभाव भोलि र पर्सि बिहान सम्मै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि पश्चिमी न्यूनचापीय प्रणालीका कारण हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै जाने मौसमविद्को भनाई रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएर आकाश खुलेसँगै चिसो बढेको छ । यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर शुरू भएको छ । तर मौसमविद्ले शीतलहरको घोषणा गरिसकेका छैनन् ।

मौसमविद्का अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ तर अहिले शीतलहर घोषणा गर्नेगरी मापदण्ड पूरा भैसकेको छैन। मौसमविद्ले घोषणा नगरे पनि तराईका धेरै ठाउँमा शीतलहरको प्रभाव शुरू भइसकेको छ ।