नागरिकलाई सत्य सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन

२६ पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले लुकाउनु पर्ने कुनै सूचना नभएको बताउनुभएको छ ।
शुक्रवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबिचको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सूचना लुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको हो ।
उहाँले सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य हुने बताउनुभयो । ‘जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनु पर्छ, उनले भने, ‘सही सूचना दिँदा कहाँ कसले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने स्थिति रहन्छ ।’
कार्यक्रममा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिन मुख्यमन्त्री कँडेलले निर्देशन समेत दिनुृभयो ।
प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरेर समाजमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्ने काममा लागेको उहाँले बताउनुभयो । कँडेलले सरकारले गरेका राम्रा कामको सहीरूपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको बताउनुभएको छ ।