सुर्खेतमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारदेखि मह प्रदर्शनी मेला सुरु भएको छ ।
तेस्रो राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेश समितिले मह प्रदर्शनी मेला आयोजना गरेको हो । माघ ३ गतेसम्म चल्ने मेलाको आज (मंगलबार) औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
मेलाको उद्घाटनका क्रममा कर्णाली प्रदेश सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेश अर्गानिक मह उत्पादनको हब भएको बताउनुभयो । कर्णालीको हावा पानी अनुकुल हुनुका साथै कर्णाली प्रदेशमा विषादीको प्रयोग कम हुने भएकाले मौरी पालनको राम्रो संभावना रहेको मन्त्री शाहले बताउनुभयो ।
अर्गानिक महको राम्रो बजार रहेको भन्दै व्यावसायिक मौरी पालनमा लाग्न मन्त्री शाहीले किसानहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले मह उत्पादन किसानहरुलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजारहरूको सहयोग गर्ने सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
मौरी पालन राष्ट्रिय महासंघका अध्यक्ष सुवास चन्द्र घिमिरेले सरकारले मौरी पालन किसानहरुका लागि बजारीकरण, व्यावसायिक उत्पादन लगायतका गर्दै सहयोग अपर्याप्त रहेको बताउनुभयो । गैर व्यावसायीहरुले मह भनेर अखाध्य बस्तुको विक्रि वितरण गर्ने गरेको भन्दै त्यसको नियन्त्रणमा सरकारले उचित ध्यान दिनुपर्ने अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।


महको बजारीकरणसँगै मौरी पालनसम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको मौरी पालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले जानकारी दिनुभयो ।
मेलामा ३२ वटा स्टलहरु रहेका छन् । ती स्टलहरुमा कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्गानिक खाधान्न, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर (शुद्ध भएनभएको छुट्टाउँने) मेसिन, मौरीका घारहरू, मह निकाल्ने प्रविधिहरु, खाद्य केराको रेसबाट बनेका म्याट लगायतका सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् ।


कर्णालीका दशवटै जिल्लामा मौरी पालन हुन्छ । जाजरकोट, दैलेख, सुर्खेत, लगायतका जिल्ला महउत्पादनका हिसाबले राम्रो संभवना भएका जिल्ला हुन् । यस्तै हिमालीहरुमा उत्पादन हुने महलाई जडिबुटीको आौषधिजन्य महका रुपमा लिइन्छ ।
मह प्रदर्शनी मेलाबाट जैविक विविधताको महत्व र संरक्षण बारे आम मानिसहरुलाई जानकारी हुने पनि अपेक्षा गरिएको मौरी पालन हासंघका सल्लाहकार खगेन्द्र भण्डारीले बताउनुभयो ।
कर्णाली प्रदेशमा बार्षिक करिब दश टन मह उत्पादन हुने महासंघको दाबि छ ।