सकियो प्रथम मह मेला, तीन दिनमा चार क्वीन्टल मह बिक्री


सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको मह प्रदर्शनी मेला आज सकिएको छ ।
नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेशको आयोजनामा माघ १ गतेदेखि ३ गतेसम्म वीरेन्द्रनगरमा प्रथम मह प्रदर्शनी मेला सञ्चालन भएको थियो । मेलाबाट चार क्वीन्टल मह बिक्री भएको आयोजकले जनाएको छ । मेलामा कर्णाली प्रदेशका दश वटै जिल्लाबाट सहभागी किसानका ३२ वटा स्टल राखिएको थियो । महको विक्री, मह सम्बन्धी आम उपभोक्ताको चासो देखेर मौरी पालक किसानहरु मेलाबाट उत्साहित भएका छन् ।
महसँगै अर्गानिक खाधान्न, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर जाँच सम्बन्धी जानकारी, मौरीका घारहरू, मह निकाल्ने प्रविधिहरु, खाद्य केराको रेसबाट बनेका सामग्री पनि प्रदर्शनीमा राखिएको थियो ।
शुद्ध मह विक्रीका लागि बजारको खासै समस्या नभएपनि बजारमा मिसावटयुक्त मह विक्रिवितरण हुँदा आम उपभोक्ता सजिलै मह किन्न हिचकिचाउने गरेका छन् । यस मेलाबाट महको बजारीकरणसँगै उपभोक्तालाई शुद्ध महसम्बन्धी र किसानलाई मौरी पालनका नयाँ प्रविधिबारे जानकारी भएको आयोजक नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले बताउनुभयो ।

कर्णालीका दशवटै जिल्लामा मौरी पालन हुने गरेको छ । जाजरकोट, दैलेख, सुर्खेत, लगायतका जिल्लामा धेरै मह उत्पादन हुने गरेको छ । यस्तै कर्णालीका हिमाली जिल्लाहरुमा उत्पादन हुने महलाई जडिबुटीको आौषधिजन्य महका रुपमा लिइन्छ ।

मौरी पालन व्यवसायलाई प्रवद्र्धन गर्न कर्णाली प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम निर्माण गर्ने कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले प्रतिबद्धता जनाउनुभयो । मह मेलाको समापनका क्रममा आज आयोजित कार्यक्रममा मन्त्री शाहले वहु उपयोगी मौरी पालनलाई प्रवद्र्धन गर्न उचित कार्यक्रम बनाउने प्रतिबद्धता जनाउनुभएको हो । सरकारले लिएको अर्गानिक प्रदेशको नीतिले पनि मौरी पालनमा सहयोग पुग्ने मन्त्री शाहको भनाई थियो ।

मौरी पालनका हिसाबले राम्रो संभावना भएपनि पछिल्लो समय विषादीको प्रयोग, चरण क्षेत्र कम हुनु लगायतका समस्या कर्णालीका मौरी पालन किसानले भोग्दै आएका छन् ।