सुर्खेत, ६ माघ ।
सुर्खेतको सिम्ता गाउँपालिकाले पालिकामा नव निर्मित अस्पतालबाट सेवा दिन सुरु गर्ने भएको छ ।
वडा नं. ४ बजेडीचौरमा निर्माण भएको १५ शैय्या अस्पतालबाट यही माघ महिनादेखि सेवा दिन सुरु गर्ने भएको हो । गाउँपालिकाको आज सम्पन्न १६ औँ गाउँसभाले अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । अस्पतालमा कर्णाली प्रदेश अस्पतालबाट दुई जना मेडिकल अफिसर डाक्टर काजमा जाने भएका छन् । अस्पतालबाट दुई जना डाक्टरसँगै स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नेगरी तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले जानकारी दिए । अस्पताल भवनमा हाल विद्युत र पानी जडानको काम भैरहेकोले अबको १५ दिन भित्रमा सेवा सुरु गरिने अध्यक्ष चन्दले बताउनुभयो ।
हरेक पालिकामा अस्पताल सञ्चालन गर्ने नेपाल सरकारको योजना अन्तर्गत सिम्ता गाउँपालिका वडा नं. ४ बजेडीचौरमा २०७७ साल मंसिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल निर्माणको लागि माउण्ट एण्ड कविन्द्र जेभी भ्याटसहित १४ करोडमा ठेक्का पाएको थियो । निर्माण कम्पनीले यही २०८१ मसान्तमा भवन निर्माण सम्पन्न गरेको हो ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैय्याको अस्पतालका लागि दशौँ तहको कन्सल्टेण्ट मेडिकल जनरलिष्ट मेडिकल सुपरिटेण्डेण्ट, २ जना मेडिकलअधिकृत सहित ३२ जनाको दरबन्दी रहनेगरी संगठन संरचना बनाएको छ ।
अस्पताललाई आवश्यकपर्ने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहले नै व्यवस्था गर्नुपर्ने हुन्छ । अस्पताल सञ्चालनमा आएपछि सम्बन्धित वडामा रहेको स्वास्थ्य संस्था पनि त्यसैमा गाभ्नुपर्ने हुन्छ । सोही प्राब्धान बमोजिम हाल वडा नं. ४ मा रहेको बजेडीचौर स्वास्थ्य चौकीलाई अस्पतालमा गाभेर सेवा सुरु गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल सुरु भएसँगै भिडियो एक्सरे, ल्याव सेवा, आकस्मिक, बहिरङ्ग र अन्तरङ्ग सेवा,एम्बुलेन्स सेवा सुरु हुनेछ ।
अस्पताल सुरु भएपछि सिम्तावासीले साना तिना स्वास्थ्य उपचारका लागि पनि मेहलकुना, वीरेन्द्रनगर, नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिका अध्यक्ष चन्दले दाबि गर्नुभयो ।
सिम्ता गाउँपालिकाको जनसंख्या २४ हजार रहेको छ । साथै सुर्खेतको चिङ्गाड, जाजरकोटको शिवालय र सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका केही भूभाग समेत सिम्ता गाउँपालिकामा जोडिएको छ । अस्पताल सुरु भएपछि छिमेकी ती पालिकाबाट समेत सेवा लिन आउने अपेक्षा गरिएको छ ।
अस्पताल निर्माण संगै सेवा प्रवाहको तयारी तथा अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालन गरे पछि सिम्ताका नागरिक अब स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने दिन हट्ने गाउँपालिका अध्यक्ष चन्दको भनाई रहेको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरद्वय नवीन काफ्ले र असिस यादवले काजमा आएर सेवा दिन सुरु गर्ने गाउँपालिकाले जनाएको छ । साथै अस्पताल संचालनका लागि अन्य जनशक्ति गाउँपालिकाबाट व्यवस्था गर्ने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा करिब ४ सय स्थानीय तह र सात वटै प्रदेशमा गाउँ तथा नगर अस्पताल निर्माणका लागि बजेट विनियोजन गरि अस्पताल निर्माणको लागि काम अघि बढाइएको थियो ।