कर्णालीको शिक्षा सुधारका चुनौती र समाधान खोज्दै पत्रकार


नवराज रोकाय
माघ १३ , सुर्खेत- कर्णाली प्रदेशको शिक्षा क्षेत्रका विविध चुनौती र समाधानका उपायहरूबारे सञ्चारकर्र्मीहरूले प्रश्न उठाएका छन् ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको वार्षिक कार्यक्रम अन्र्तगत आज सुर्खेतको विरेन्द्रनगरमा गरीएको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले उक्त प्रश्न उठाएका हुन् ।
कार्यक्रममा सहभागी पत्रकारहरूले कर्णाली प्रदेशका विद्यालयमा देखिएका समस्या, जनशक्तिको अभाव, बजेटको प्रभावकारी प्रयोग, र शिक्षामा समान पहुँचका विषयमा गम्भीर प्रश्न उठाएका थिए । साथै, स्थानीय सरकारको कमजोरी र संघीय सरकारको नीतिगत सहकार्यलाई प्रभावकारी बनाउन गरिनुपर्ने कदमहरूबारे पनि धारणा व्यक्त गरेका थिए ।
पत्रकारहरूले शिक्षा क्षेत्रमा भइरहेको भौतिक संरचनाको सुधार, विद्यालयमा वितरण गरीने दिवा खाजा , सेनेटरी प्याड, बिद्यालय कर्मचारी ब्यबस्थापन अनुदान लगाएत बालबालिकाको सिकाइमा देखिएका कमीहरू औंल्याउँदै यसलाई प्राथमिकताका साथ समाधान गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले नेपालको संविधान २०७२ अन्तर्गत रहेका शिक्षा सम्बन्धी प्रावधानहरूबारे जानकारी गराउँदै संघीय सरकारले स्थानीय तहमा बजेट हस्तान्तरण गरेको भए पनि जनशक्ति र कानुनी प्रावधानको अभावले काम गर्न चुनौती थपिएको बताउनुभयो ।
उहाँले पछिल्लो समय तयार गरिएको शिक्षा गाइडलाइनले समस्याको समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले सुर्खेतका विद्यालयहरूमा भएका सुधार प्रयासहरू बताउदै भौतिक संरचना, शिक्षकको क्षमता अभिवृद्धि, र सिकाइ सुधारमा केन्द्रीय सरकार र स्थानीय सरकारको सहकार्यले सोचे अनुरुप उपलब्धि हाँसिल गर्न नसकेपनी निरन्तर प्रयासका कामहरु भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रमले पत्रकार र शिक्षा क्षेत्रबीच आपसी संवाद र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास गरिएको छ ।