माघ १४ जुम्ला । वनमा लागेको आगो(डढेलो) निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो ।
आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । स्याउ बगैंचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो । आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो ।
आगो अझैपनि नियन्त्रणमा आइसकेको छैन । गाउँपालिका अध्यक्ष धितालले आगो नियन्त्रणको लागि सुरक्षा निकायसंग समन्वय भइरहेको बताए ।
भद्रको शव पोष्टमाटम गर्न अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईने छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा आउन नसकेपछि पुर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावल र जिल्लाबाट नेपाल प्रहरी,शसस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ पुगिसकेको छ ।