क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

काठमाण्डौं, २ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गर्नुभएको छ । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताउनुभएको हो ।
काठमाडौंको होटल क्राउन प्लाजामा भएको एक कार्यक्रममा उहाँका तर्फबाट राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सन्यासको घोषणा गर्नुभएको हो ।
’म लर्डस् र नेदरल्यान्डमा हुने खेलपछि नेपालमा एउटा अन्तर्रा्ष्ट्रिय टुर्नामेन्ट खेलेर बिदा लिन्छु’, शक्तिले भन्नुभयो, ’घरेलु दर्शकमाझ खेलेर बिदा लिनु मेरो लागि गर्वको विषय हो।’
नेपालले इङ्ल्यान्डको लर्ड्समा २९ तारिख र नेदरल्यान्डमा १ तथा २ तारिखमा खेल्दैछ। टि ट्वान्टी र एकदिवसीय खेल्न जान लागेको नेपाली टोलीलाई बिदाइ गर्ने कार्यक्रममा शक्तिले सन्यास लिन लागेको घोषणा कप्तान पारसले गर्नुभएको थियो ।
पारसले आफू स्कुलमा हुँदा नै शक्तिको नाम सुनेको स्मरण गर्दै उहाँ ’मिहिनेती खेलाडी’ भएको बताउनुभयो । ’स्कुलदेखि उहाँको नाम सुनेको हो। उहाँ एकदमै मिहिनेत गर्ने खेलाडी हो’, खड्काले भन्नुभयो, ’उहाँले उता (लर्ड्स् र नेदरल्यान्ड) बाट फर्किएपछि घरेलु दर्शकमाझ एउटा अन्तर्रा्ष्ट्रिय खेल खेलेर बिदा लिने चाहना गर्नुभएको छ ।’
राष्ट्रिय टोलीका तर्फबाट सन् २००२ को जुलाइमा उहाँले ओमनविरुद्ध डेब्यु खेल खेल्नुभएको थियो ।
अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो नेपाली क्रिकेटर शक्ति शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । अल राउन्डर शक्ति राष्ट्रिय टिमबाट लामो सयम खेल्ने क्रिकेटर पनि हुनुहुन्छ ।