नवराज रोकाय
माघ १५ , सुर्खेत- विरेन्द्रनगर १४ मा यहि माघ २२ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान संचालन हुने भएको छ । यस अभियानको तयारीस्वरूप वडास्तरीय खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक विद्यालयका शिक्षक–शिक्षिका, किशोर– किशोरी तथा वडा प्रतिनिधिहरूलाई लक्षित गरी आज अभिमुखीकरण कार्यक्रम गरीयको छ । गढी स्वास्थ्य चौकीका सिनीयर अहेब नवीन भारतीले विरेन्द्रनगर–१४ का विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरू र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरू लाई एचपिभि खोप लगाइने बताउनुभयो।
विरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा हुने यो खोप अभियान माघ २२ देखि २४ गतेसम्म संचालन हुनेछ । खोप कार्यक्रम गढी स्वास्थ्य चौकीले वडाका विभिन्न विद्यालयमा संचालन गर्नेछ । माघ २२ गते सिद्ध मावि गोठीकाँडा, माघ २३ गते भैरव आधारभूत विद्यालय राम्रीकाँडा, र माघ २४ गते गंगा आधारभूत विद्यालय दर्नाकोटमा खोप कार्यक्रम सञ्चालन गरिने वडाध्यक्ष देव बहादुर रोकायले जानकारी दिनुभयो ।
वडाध्यक्ष रोकायले पाठेघरको मुखको क्यान्सर सुरुवाती अवस्थामा नै निदान गरी उपचार गर्न सकिने भएकाले लक्षित उमेर समूहका किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउन आग्रह गर्नुभयो । नेपालमा हरेक वर्ष करिब २,१६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने तथ्यांक छ । यस रोगका कारण प्रत्येक वर्ष १,३१३ महिलाको अकालमै मृत्यु हुने गरेको र औसतमा दैनिक चार जना नेपाली महिलाको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको छ ।
यो अभियानले विरेन्द्रनगर १४ का किशोरीहरूलाई क्यान्सरको जोखिमबाट जोगाउन महत्त्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।