नवराज रोकाय
माघ १८, सुर्खेत – सुर्खेत जिल्लामा २५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।
यहि माघ २२ गतेदेखी संचालन गरीने खोप अभियान अन्र्तगत आज सुर्खेतको विरेन्द्रनगरमा जिल्ला स्तरीय खोप समन्वय समिति, तथा संचारकर्मीहरुको लागि गरीएको अभिमुखि कार्यक्रममा उक्त कुरा बताईएको हो ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत पहिलो चरणमा सुर्खेत जिल्लाका पाँच पालिकामा र दोस्रो चरणमा चार पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका जनस्वास्थ्य निरीक्षक तथा खोप फोकल पर्सन घनश्याम बुढाले पहिलो चरणमा माघ २२ देखि २५ सम्म बिरेन्द्रनगर, भेरीगंगा, लेकबेसी नगरपालिका सहित चिङ्गाड र बराहताल गाउँपालिकामा खोप लगाइने र दोस्रो चरणमा माघ २७ देखि फागुन १ सम्म चौकुने, सिम्ता गाउँपालिका तथा पञ्चपुरी र गुर्भाकोट नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
निरीक्षक बुढाका अनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यो खोप दिइने छ । विद्यालय जाने विद्यार्थीहरूका लागि उमेर हेरिने छैन भने विद्यालय बाहिरका किशोरीहरूका लागि जन्मदर्ताको आधारमा उमेर प्रमाणित गरिने छ ।
कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका डा. सुवास शर्माले एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको र यो पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । साथै, कर्णाली प्रदेश अस्पताल, सुर्खेतका निर्देशक डा.केशर ढकालले खोप लगाएपछि कसैलाई हल्का ज्वरो आउने, टाउको दुख्ने , मांशपेशी दुख्ने,वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिए पनि केही समयमै ठीक हुने भएकाले नआत्तिन आग्रह गर्नुभयो । उहाँले खोपकै कारण जटिल प्रकारको समस्या देखिए तल्कालै समस्याको समाधान गर्न प्रदेश अस्पताल तयारी अबस्थामा रहेको समेत जानकारी गराउनुभयो ।
कर्णाली प्रदेशमा १० जिल्लाका १ लाख २० हजार ५ सय १० किशोरीलाई खोप दिइने यूनिसेफको तथ्यांक रहेको छ । जिल्लागत तथ्यांकअनुसार सुर्खेतमा २८,३४०, दैलेखमा १८,०९१, जाजरकोटमा १५,९५२, सल्यानमा १४,५१३, रुकुम पश्चिममा १२,१०६, कालिकोटमा ११,९२३, जुम्लामा ८,८२९, हुम्लामा ३,७३६, डोल्पामा २,६४१ र मुगुमा ४,३७९ किशोरीलाई खोप लगाइने भएको हो ।
यसैबिच, कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले पछिल्लो समय चिल्ला सडक र सुबिधा सम्पन्न भबनहरुलाई मात्र विकाश देख्ने गलत प्रचलन रहेको भन्दै सरकारले स्वास्थ जस्तो संबेदनशिल कुरालाई ध्यानमा राखेर संचालन गरेका यस्ता खाले अभियानलाई पनी विकाशकै रुपमा लिनुपर्र्नेे बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवं खोप अभियानका संयोजक गंगाराम सुनारले सरकारले ल्याएको यस अभियानलाई प्रभावकारी बनाउन सबै पक्षहरूबाट सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपालमा हरेक वर्ष २,१६९ महिलामा पाठेघरको क्यान्सर देखिने र १,३१३ जनाको मृत्यु हुने भएकाले एचपिभी खोप अभियान अन्र्तगत सुर्खेतका लक्षित ९० प्रतिशत किशोरीहरूलार्ई खोप दिने लक्ष्य राखिएको छ । साथै, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचार समेत सुनिश्चित गर्ने सरकारको योजना रहेको छ ।