सुर्खेत,१८ माघ ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाले विभिन्न आठ वटा सार्बजनिक प्रतिबद्धता गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको आयोजना एवं सुशासन प्रबद्र्धनका लागि युवा संस्थाको सहजीकरण शुक्रबार वीरेन्द्रनगरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रासाशकीय अधिकृत लगायत कार्यालयको तर्फबाट विकास निर्माणलाई थप गुणस्तरीय एवं सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको हो । कार्यक्रममा सहभागीहरुले सडकमा वत्ति र सीसीटिभी जडान गर्नुपर्ने, सडकहरुको स्तरोन्नती गर्नुपर्ने, नगर बस सञ्चालन गर्नुपर्ने, नियमित र प्रभावकारी रुपमा बजार अनुगमन गर्नुपर्ने, सबै व्यावसायलाई करको दायरामा ल्याउनुपर्ने, खानेपानीको व्यवस्थापन चुस्त बनाउनुपर्ने, कृषि हाट बजार र चिस्यान केन्द्र निर्माण गर्नुपर्ने, फोहोर एवं ढल व्यवस्थापनलाई अझै प्रभावकाी बनाउनुपर्ने सवाल उठाएका थिए ।
कार्यक्रमका सहभागीहरुले उठाएका सवालको जवाफ दिँदै नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर विकासको लयमा अगाडी बढेको बताउनुभयो । नागरिकका आवश्यकता धेरै तर सिमित स्रोत साधन भएकाले प्राथमिकताका आधारमा विस्तारै विकास निर्माणका काम भैरहेको नगरप्रमुख ढकालको भनाई थियो । सडक बत्ति जडानका लागि पाँच हजार बल्व खरिदको काम भैरहेको र चाँडै नै जडान गरिने उहाँले बताउनुभयो । नगरपालिका एक्लैको प्रयासले सोचे अनुरुपको काम गर्न नसक्ने भन्दै त्यसका लागि नगरवासीको साथ सहयोग जरुरी हुने उहाँको भनाई थियो । नगरपालिकाले भौतिक विकासँगै सामाजिक विकास र कल्याणकारी कार्यक्रमहरु ‘हेल्लो गर्भवती आमा’ मेयरसँग महिला किसान, गर्भवतीका लागि निशुल्क एम्बुलेन्स, नगर अस्पताल, निशुल्क स्वास्थ्य शिविर लगायत सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उपप्रमुख निलकण्ठ खनालले सुशासन पारदर्शीता र जवाफदेहिताका लागि नागरिकको खबरदारी सधैँ जरुरी रहेको बताउनुभयो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले उठाएका सवालको कार्यान्वयनसँगै सुझावालाई ग्रहण गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपप्रमुख खनालले प्रतिबद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद बासकोटाले पुस मसान्तसम्म २४ दशमलव २४ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराउनुभयो । विकासका निर्माणका नियमित कामसँगै नगर प्रहरी नियुक्ती, हाइवेमा सडक सोलार बत्ति जडान, सेफ हाउस सञ्चालन, नमूना रोजगार सेवा केन्द्र सञ्चालन लगायत कार्यक्रमहरु सञ्चालन भैरहेको उहाँले बताउनुभयो ।
सवाल जवाफपछि वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सडकहरुको स्तरोन्नती गर्ने, ल्याण्डफिल्डसाइडमा फोहोर व्यवस्थापनलाई अझै व्यवस्थित बनाउने, भू उपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, सहरी बिकास आयोजना अनुसार तटबन्धन गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै कृषि हाट बजार तथा कोल्ड स्टोर लाई ब्यवस्थित गर्ने, बजेट बिनियोजन गर्दा बस्तीस्तरका योजना तथा माग र आवश्यकताका आधारमा गर्ने,नगरपालिकाको सेवालाई सबैको पहँुचयुक्त गुणस्तरीय , जनमुखी वनाउने प्रतिबद्धता गरिएको हो ।