२८ माघ, हुम्ला । नेपाल र चीनको सीमाना हिल्सामा चिनियाँ सरकारको तर्फबाट पक्की मितेरी पुल निर्माण भएको छ । काम सुरु भएको ८ महिनामै हिल्सा नाकामा मितेरी पुल निर्माण भएको सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो ।
एक वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ पक्षले गत असारदेखि काम सुरु गरेको थियो । चिनीयाँ पक्षले रात दिन गरी तीन सिफ्टमा पुल निर्माणको काम गरेको कारण पक्की पुलको निर्माण कार्य छोटो समयमै पूरा भएको नेपालीले बताउनुभयो ।
तोकिएको समयअगावै पुल बने पनि सञ्चालनमा भने आएको छैन । बेलबहादुर नेपालीका अनुसार हाल चिनियाँ पक्षले नेपालतर्फको एप्रोज सडक निर्माण कार्य गरिरहेकाले सञ्चालनमा आउन केही ढिलाइ भएको हो ।
नेपालतर्फको पुलको छेउबाट २ सय मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता छ । सोही डिजाइनअनुसार सडक निर्माण गर्न भने नेपालतर्फको संरचना वाधक बनेको छ । हाल नेपाली भूभागमा शौचालय, हेलिप्याड लगायतका संरचना भएको कारण सो सडक निर्माण भने हुन सकेको छैन ।