सुर्खेत, २ फागुन ।
सुर्खेत जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सिम्ता गाउँपालिकाको वागेश्वरी माध्यामिक विद्यालयमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सिम्ता गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटनका क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताउनुभएको छ ।
बिद्यालयमा रहेका हरेक विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट असल नागरिक बनाउन सकिने हुँदा खेलकुदलाई महत्वकासाथ सबैले हेर्नुपर्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो । खेल क्षेत्रलगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताउनुभयो । खेलाडीको जीवनरक्षाका निमित्त आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बीमा प्रदेश सरकारले गरिदिने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागी रहेको थियोे । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियोे । सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरुले सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला पुरुष भलिवल, महिला पुरुष कपड्डी, कराँते, तेक्वान्दो, उस्सु र एथ्लेटिक्सका खेलहरु हुनेछन् । प्रतियोगितामा भेरीगंगा नगरपालिका बाहेकका सुर्खेतका आठ वटा पालिकाबाट विद्यालयहरुको सहभागिता रहेको छ । फागुन ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।