डाक्टर केसीलाई काठमाडौं लगियो, सरकारले लियो झुटको सहारा

सुर्खेत, ३ साउन (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आज दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि अनशनतर डाक्टर गोविन्द केसी काठमाडौं जानुभएको छ ।
डाक्टर केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं लगिएको हो । यसअघि डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने बताउनुभएको थियो ।
शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको थियो ।
अस्पताललाई प्रशासनले युद्धभूमिजस्तो बनाएको र अस्पतालमा धेरै क्षति भएकाले आफू काठमाडौं जान तयार भएको डाक्टर केसीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले अस्पतालमा आफ्ना समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै डाक्टर केसीले त्यसलाई रोक्न आफू काठमाडौं जान तयार भएको बताउनुभयो ।
उहाँले अस्पताल परिसरबाट बाहिर निस्कने क्रममा भावुक हुँदै आफ्नो सत्याग्रह जहाँ भए पनि जारी रहने बताउनुभयो ।

सरकारल लियो झुटको सहारा
यसैबिच, सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको खुलासा भएको छ ।
डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ । काठमाडौं जान तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिनुभएको थियो ।
तर, झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि केसी विक्षिप्त हूँदै काठमाण्डौ जान तयार हुनुभएको थियो ।
तर, मृत्यु भएका भनिएका प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको छ । डा. केसीलाई सुनाइएको प्रहरीको मृत्यु भएको खबर सञ्चार माध्यमहरुमा पनि आएपछि स्थानीय प्रशासन आफैंले प्रहरी जवानको मृत्यु भएको खबर झुट भएको प्रस्ट पारेको छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा गोली चल्दा प्रहरी जवानको मृत्यु भएको कुरामा कुनै सत्यता नभएको बताउनुभयो ।
घटनामा घाइते भएका प्रहरी जवान उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले हेलिकोप्टरमार्फत आजै काठमाडौं ल्याउन नसकिने भएको भन्दै नेपालगञ्ज लगिएको बताउनुभयो ।
उहाँको छातीमा गहिरो चोट रहेको बताइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपाध्यायको शल्यक्रिया गरिएको थियो ।

अराजकता निम्त्याउनेलाई कारबाही गरिने मुख्यमन्त्री शाहीको चेतावनी
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनशनरत डाक्टर गोविन्द केसीको समर्थकको नाममा अराजकता निम्त्याउनेहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको क्रियाकलापमा अराजकता निम्त्याउनेलाई उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
प्रतिष्ठानमा अनसनरत डा केसीलाई थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शाहीले डा केसीको जीवनरक्षाका लागि सरकारले पहल गर्दा केही अराजक व्यक्तिहरुले अवरोध सिर्जना गर्न खोजेको बताउनुभयो ।
उहाँले प्रतिष्ठानमा अराजक कार्य गर्नेहरुलाई सिसिटिभी फुटेज हेरेर पहिचान गरी कारबाही गरिने चेतावनी समेत दिनुभयो ।
डा केसीलाई काठमाडौं लैजानका लागि पहल गर्न मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जुम्ला पुग्नुभएको थियो ।

मानव अधिकार आयोगद्वारा जुम्ला झडपको निन्दा
यसैबिच, राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत डा गोविन्द केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौं ल्याउने क्रममा प्रहरीले गरेको बल प्रयोगको निन्दा गरेको छ ।
अस्पताल भवनभित्रै प्रहरी प्रवेश गरी कुटपिट गर्नु र झडप भई अस्पताल भवन लगायत स्वास्थ्य उपकरणहरुमा क्षति पुग्नु निन्दनीय कार्य भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारीले अस्पतालमा प्रवेश नपाउँदा प्रहरीले लाठी चार्ज गरेको उल्लेख छ । अश्रुग्यास प्रहार भएकोबारे भने आयोग मौन रहेको छ ।
घटनाको आयोगले अनुगमन गर्दै यस्तो कार्य तत्काल रोक्न गृह मन्त्रालयलाई मौखिक जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।