संघीय सरकारले अधिकार दिन नमान्दा कर्णालीको विकास अवरुद्ध : पूर्व मुख्यमन्त्री शर्मा

नवराज रोकाय
फागुन ७ सुर्खेत, – कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले संघीय सरकारले प्रदेशलाई पूर्णरुपले जबसम्म अधिकार दिदैन तब सम्म कर्णालीको विकास सोचेजस्तो हुन नसक्ने बताउनु भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६४औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘विकासमुलक पत्रकारितामा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले उक्त कुरा बताउनुभएको हो ।
रासस कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दे शर्माले मिडियाको पारदर्शितामाथि समेत प्रश्न उठाउनु भएको छ ।
पूर्व मुख्यमन्त्री शर्माले पारदर्शिताका लागि मिडिया महत्वपूर्ण भएपनी पछिल्लो समय मिडियाप्रति विभिन्न गुनासा उठेको बताउँदै सो विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कर्णालीको वास्तविकता भौगोलिक कठिनाइ नभएर केन्द्रीय नेतृत्वको सोचमा दुर्गमता रहेको भन्दै काठमाडौं सिंहदरबारमा बस्ने नेतृत्वकर्ताको सोच र चिन्तन दुर्गम रहेको आलोचना समेत व्यक्त गर्नुभयो ।
सरकारको क्षमताका विषयमा समेत प्रस्ट्याउँदै शर्माले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नचाहेको र संघीयता कार्यान्वयनमा अवरोध सिर्जना गरेको आरोप लगाउनुभयो ।
संघीयता लागुभए पछि देशमा केही पनि नभएको भन्नु सत्य नभएको तर आवश्यकता अनुसार उपलब्ध हुन नसकेको पूर्व मुख्यमन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा विभिन्न संचारमाध्यमका प्रमुख वा प्रतिनिधीहरुले पत्रकारितामा राससको योगदान महत्वपूर्ण रहेको औंल्याउँदै अझ प्रभावकारी बन्नुपर्ने सुझाव दिएका थिए ।