सुर्खेत, १४ फागुन ।
सिम्ता गाउँपालिकामा बनेको १५ शैय्या अस्पतालको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
वडा नं. ४ बजेडिचौरमा निर्मित अस्पतालको गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा अध्यक्ष चन्दले अस्पताल सञ्चालन भएसँगै सिम्ताका जनताले आफ्नै ठाउँबाट चिकित्सकीय सेवा पाउने बताउनुभयो । अब चिकित्सकसँग जाँच गराउनकै लागि वीरेन्द्रनगर तथा नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष चन्दले बताउनुभयो । उहाँले असारसम्म अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाले १३ लाख रूपैंया बिनियोजन गरेको जानकारी गराउनुभयो । १५ शैय्या अस्पताल पूर्ण रूपमा सञ्चालनका लागि गाउँपालिकालाई आर्थिक चुनौती रहेको भन्दै प्रदेश र संघ सरकारले उचित सहयोग गर्नुपर्ने अध्यक्ष चन्दले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले गाउँमै चिकित्सकबाट सेवा लिने सिम्तावासीको सपना पूरा भएको बताउनुभयो । अस्पतालबाट चाँडै विशेषज्ञ सेवा सञ्चालनका लागि सहयोगका गर्न प्रदेश र संघ सरकारसंग उहाँले आग्रह गर्नुभयो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोख्रेलले रणनीतिक स्थानका आधारभूत अस्पताल सञ्चालनका लागि सहयोग गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । सुर्खेतको सिम्तासँगै जाजरकोट र सल्यानको केही भागका नागरिकले प्रत्यक्ष सेवा लिनसक्ने भएकाले सिम्ताको आधारभूत अस्पताल रणनीतिक क्षेत्रको अस्पतालका भएको सचिव पा्ख्रेलको भनाई छ । उहाँले अस्पताल सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सिम्ता अस्पतालका लागि हाल कर्णाली प्रदेश अस्पताल कालागाउँबाट दुई जना चिकित्सक डाक्टर नविन काफ्ले र डाक्टर आशिष यादवलाई प्रदेश सरकारले काजमा खटाएको छ । १५ शैया अस्पतालकाे दरवन्दी स्वीकृतिका लागि सिम्ता गाउँपालिकाले संघीय सरकारको अर्थमन्त्रालयमा पठाएको भएपनि स्वीकृत भइसकेको छैन । अहिले वडा नं. ४ मा रहेको बजेडीचौर स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा गाभेर सेवा सुरु गरिएको छ । अहिले अस्पतालबाट इमर्जेन्सी र बिरामी जाँच सेवा तथा सामान्य ल्याब सेवा दिइने र आगामी दिनमा एक्सरे लगायतका सेवा थप गरिने सिम्ता गाउँपालिका वडा नं. ४ का अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।