फागुन १७, काठमाण्डौ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ’ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान भोलिदेखि सञ्चालन हुने भएको छ ।
यसअघि हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो । मनाङ, मुस्ताङ र हुम्लामा भोलि र डोल्पामा यही फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले गएको माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार आठ सय ८९ जना किशोरीले खोप लगाएका छन् ।
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता दिएको एचभीपी खोपको प्रभावकारिता ९५ देखि शतप्रतिशत रहेको भनेर अध्ययनहरूले देखाएका बताउनुभयो ।
नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ ।