विद्यालय तहबाटै विषादी न्यूनीकरण कार्यक्रम लागु गर्नुपर्ने

नवराज रोकाय
फागुन १९, सुर्खेत –
विद्यालय तहबाटै रासायनिक विषादी न्यूनीकरण कार्यक्रम लागू गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। ।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन गरिएको एकदिने रासायनिक विषादी न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।
सहभागीका अनुसार बालबालिकालाई सानैदेखि विषादीको असरबारे सचेत गराउँदै अर्गानिक खेतीतर्फ अभिप्रेरित गर्न सकिएमा भविष्यमा विषादी प्रयोग न्यूनीकरण सहज हुनेछ ।

आगामी चैत ३ गतेदेखि ९ गतेसम्म विषादी प्रयोग मुक्त सप्ताहको तयारीस्वरूप आयोजित सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले बजेट अभावका कारण जिल्लास्तरमा प्राङ्गारिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको बताउनुभयो । प्रमुख रोकायले हाल सुर्खेतको सिम्ता र चिङ्गाड गाउँपालिका एबम् भेरीगंगा नगरपालिकालाई प्राङ्गारिक पालिका घोषणा गरिएको उल्लेख गर्दै प्रदेशभर यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रमुख रोकायले प्रदेश सरकारले आगामी दिनमा प्राङ्गारिक पाठशाला सञ्चालनमा विषेश ध्यानदिन आग्रह गर्दे विषादी प्रयोग मुक्त अभियान सफल बनाउन सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उक्त सप्ताहअन्तर्गत किसान, उपभोक्ता, विद्यार्थी र कृषि व्यवसायीहरूलाई विषादीको असरबारे सचेत गराउने, अर्गानिक खेतीलाई प्रवद्र्धन गर्ने तथा वैकल्पिक मलप्रयोगबारे प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने समेत प्रमूख रोकायले बताउनुभयो ।

यस्तै कर्णाली प्रदेश बीउबिजन संघका अध्यक्ष याम शर्माले प्रदेशमा हाल प्रयोग भइरहेका ८० प्रतिशतभन्दा बढी बीउहरू विदेशबाट आयात हुने जानकारी गराउँदै बीउ उत्पादनमा आत्मनिर्भर बन्न सकेमात्र अर्गानिक उत्पादनको दिशामा अघि बढ्न सकिने बताउनुभयो ।

कार्यक्रममै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि विज्ञ वेदप्रसाद चौलागाईंले कर्णाली प्रदेश प्राङ्गारिक प्रदश घोषणा भइसकेपछि किसानहरूले विषादी पाउन गाह्रो भएको गुनासो आउने गरेको बताउनुभयो ।

कृषि विज्ञ चौलागाईंका अनुसार कृषि कार्यालयमा विषादी लिन जाँदा कर्मचारीहरूले हामी प्राङ्गारिक प्रदेश हौं, यहाँ विषादी छैन भन्ने प्रतिक्रिया दिने गरेका छन्। । उहाँले एकैचोटि विषादी हटाउनु सम्भव नरहेको भन्दै क्रमिक रूपमा यसको प्रयोग न्यूनीकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सल्यानको कपुरकोट, सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका तथा दैलेखको गुराँस गाउँपालिका र नारायण नगरपालिकाका ४० भन्दा बढी अगुवा किसान र स्थानीय तहका कृषि शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।