सेयर बजारमा कर्णालीको न्यून सहभागिता

नवराज रोकाय
फागुन १९, सुर्खेत – कर्णाली प्रदेशमा सेयर बजार तथा वस्तु विनिमय बजारका लागि ३ प्रतिशतले मात्रै डिम्याट खाता खोलेको पाइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्वयमा सुर्खेतमा भएको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानी कर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रममा सेयर बजार जस्ता विषयवस्तु कर्णाली प्रदेशका लागि नौलो भएका कारण न्यून मात्रामा डिम्याट खाता खोलेको तथ्यांक प्रस्तुत गरिएको हो ।
नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक तेजप्रसाद देवकोटाका अनुसार कर्णाली प्रदेशमा वित्तीय साक्षरता दर ५९.७५ प्रतिशत रहे पनि सेयर बजारमा सहभागिता न्यून रहेको छ । नेपालभर ६६ लाख ९ सय ८१ डिम्याट खाता खोली सेयर बजारमा लगानी गरिए पनि कर्णालीमा भने यस विषयमा जानकारी अभावका कारण कम मात्रामा खाता खोलिएको छ ।
सचेतना अभिवृद्धि कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले सेयर बजारबारे जानकारीको अभाव रहेको बताउँदै प्रदेशको आर्थिक विकासका लागि पुँजी परिचालन गर्न धितोपत्रसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाल धितोपत्र बोर्डका प्रतिनिधि राजु बिसीका अनुसार बोर्डले प्रदेश स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका बरिष्ठ अधिकृत मिलन मगर लगाएतका विषय विज्ञहरुले सेयर बजारमार्फत लगानी तथा रोजगारीका अवसर सिर्जना गर्न सकिने भए पनि सचेत र जानकारीयुक्त लगानी आवश्यक रहेको बताउनुभएको थियो ।