अहिलेको संविधान खारेज नगरेसम्म देश उभो लाग्दैन : महासचिव बास्तोला

नवराज रोकाय
२० फागुन सुर्खेत, नेपाल कम्युनिस्ट पार्टी बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले पछिल्लो समय देशभरमा भ्रष्टाचार संस्थागत रुपमा फैलिएको बताउनुभएको छ । उहाँका अनुसार, नागरिकहरूको राज्यप्रति वितृष्णा बढ्दै गएको र परिणामस्वरूप युवा युवतीहरू ठूलो मात्रामा विदेश पलायन भइरहेको उल्लेख गर्नुभयो ।
आप्नो गृह जिल्ला सुर्खेत आउनुभएका संयोजक बास्तोलाले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो पार्टीको नवौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भई महाधिवेशनले स्वाधीन संयुक्त सरकारको आवश्यकता रहेको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
उहाँले प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति हुनुपर्ने , मन्त्रीपरिषद् विज्ञहरूबाट गठन गर्नुपर्ने, न्यायपालिका (प्रधान न्यायाधीश) जननिर्वाचित हुनुपर्ने र प्रत्येक नागरिकको जन्मसिद्ध जमिनको अधिकार हुनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले थप्नुभयो, “अहिलेको संविधान जनताको पक्षमा छैन त्यस कारण संविधान खारेज गरेर वैज्ञानिक समाजवादको आधारमा नयाँ संविधान बनाइनुपर्छ” । बास्तोलाले अहिलेको संसदीय चुनावी प्रक्रिया पनि गलत भएको दाबी गर्दै, पैसा खर्च नगरेसम्म मन्त्री वा सांसद बन्ने अवस्था नभएकाले संसदीय चुनावी प्रक्रिया पूर्णरूपले खारेज गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।