
नवराज रोकाय
फागुन २३, सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धात्मक र सूचना प्रविधिको युगमा शिक्षा गुणस्तरीय हुन नसके समग्र मुलुक नै पछि पर्ने बताउनुभएको छ ।
आज मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।
दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गर्दे आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको बताउनुभयो ।
उहाँले उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन भैरहेकाले विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तिलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको दाबी समेत गर्नुभयो ।
शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम् काम गर्न आग्रह गर्नुभयो ।
विश्वविद्यालयको कुलपति ओलीले विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार ६ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी ३ हजार ८ सय ४१ विद्यार्थीलाई दीक्षित गर्नुभएको हो ।
