राष्ट्रिय एकतामा भाँजो हाल्ने प्रयास भैरहेको : प्रधानमन्त्री ओली

फागुन २४, सुर्खेत । प्रधानमन्त्री केपि शर्मा ओलीले अहिले राष्ट्रिय एकतामा भाँजो हाल्न अनेक प्रयासहरु भैरहेको बताउनुभएको छ । आज शुक्रबार कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जात, धर्म पहिचान लगायत विभिन्न ढंगले नेपाली जनताको बीचमा फाटो ल्याउने प्रयासहरु भैरहेको जिकिर गर्नुभएको हो ।
देशलाई संवैधानिक बाटोमा हिडाउनका लागि नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाएको भन्दै प्रधानमन्त्री ओलीले कुनै साना तिना कुराले अहिलेको सरकार नढल्ने जिकिर गर्नुभयो । अबको १६ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी पालना हुने र २०८४ को निर्वाचन नगराएसम्म एमाले र काँग्रेसको समझदारी नटुट्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकासका लागि केन्द्र सरकार पूर्ण साथमा रहेको आश्वासन दिँदै यहाँको विकासका लागि आवश्यक पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पपछि बाँडिएको अस्थायी आवास निर्माणको रकममा वेथिति भएको बताउनुभएको छ । भूकम्पले भत्केका वास्तविक संरचनाभन्दा बढीलाई अस्थायी आवासको रकम बाँडिएको भन्दै त्यसको छानविन हुने उहाँले बताउनुभयो ।
करिब ३६ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरधुरीलाई किस्ता बाँडिएको उहाँले बताउनुभयो । वास्तविक अवस्था लुकाई भएको वेथितिलाई सरकारले गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री ओलीको भनाई छ ।
जाजरकोट भूकम्पपछिको विस्तृत क्षतिको मूल्यांकन अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अस्थायी आवासको रकममा भएको वेथिति अध्ययन गरी तत्काल कारवाही गर्न सम्बन्धित जिल्लामा कार्यालय स्थापना गर्न लागेको बताउनुभयो ।
यस्तै, संसदमा सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका थिए । शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको बताउँदै उहाँले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम् काम गर्न आग्रह गर्नुभएको छ । तेस्रो दीक्षान्त समारोहबाट तीन हजार ८४१ जना विधार्थी दीक्षित भएका छन् ।