नवराज रोकाय
फागुन २४,सुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशभरका आठजना महिला उद्यमीलाई सम्मान गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय स्रोत र साधनको उपयोग गरी उद्योग स्थापना गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास र समृद्धिमा योगदान पुर्याएका उद्यमी महिलाहरूलाई जनही एक लाख नगदसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरीएको छ ।
सम्मानित हुने महिलाहरूमा डोल्पाको जगदुल्ला गाउँपालिका–३ की करुणा घरेलु तथा अल्लो उद्योगकी सञ्चालक ललिता थापा, हुम्लाको सिमकोट गाउँपालिका–५ की लक्ष्मी सिलाई कटाई उद्योगकी सञ्चालक लछु भण्डारी, जुम्लाको तातोपानी गाउँपालिका–५ की सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगकी सञ्चालक नारायणी चौलागाईंलाई पुरस्कारसहित सम्मान गरिएको हो।
त्यस्तै, सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१० की दिदीबहिनी बाख्रा फार्मकी सञ्चालक गीता कुमारी पुनमगर, कालिकोटको रास्कोट नगरपालिका–५ शाही पोल्ट्री फार्मकी सञ्चालक सीता शाही, दैलेखको नारायण नगरपालिका–६ की विन्दु सिलाई कटाई उद्यमकी सञ्चालक विन्दु कुमारी उपाध्याय, मुगुको छायाँनाथ रारा नगरपालिका–२ की सविना टेलर्सकी सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ की देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रा.लि.की सञ्चालक सुजाता पाण्डे रहनुभएको छ।
“सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ मनाइएको दिवसमा सम्मानपछि जुम्लाकी उद्यमी नारायणी चौलागाईंले कर्णालीका अधिकांश महिलाका नाममा जग्गा नहुँदा उद्योग दर्ता गर्न समस्या हुने गरेको बताउनुभयो ।
उहाँले प्रविधिको युगमा आवश्यक मेसिन तथा उपकरणहरु सहजै प्राप्त नहुने र भएपनी महँगो हुँदा उत्पादनशिल उद्योगहरू विस्तार गर्न समस्या भइरहेको उल्लेख गर्दे प्रदेश सरकारले यसतर्फ ध्यान दिई विषेश अनुदान दिन आग्रह गर्नुभयो ।
कार्यक्रमको प्रमूख अथिती समेत रहनुभएका कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले दुर्गम क्षेत्रमा महिलाहरूले अझै पनि अधिकारका लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताउँदै अधिकार मागेर नभई अब खोसेर लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री बुढाले अझै पनि कर्णालीका महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको भन्दै कर्णालीका दुर्गम क्षेत्रहरूमा महिलाहरूले आफ्ना हक अधिकारका लागि निरन्तर संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो ।
उहाँले महिलाहरू अब कुनै पनि क्षेत्रमा पछि पर्न नहुनेमा जोड दिँदै पछिल्लो समय महिलाहरूलाई गरिने व्यवहारमा केही सकारात्मक परिवर्तन आए पनि अझै समानता हासिल गर्न धेरै परिश्रम गर्नुपर्ने बताउनुभयो ।
यस्तै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारको लक्ष्य एक जिल्ला एक महिला उद्यमीलाई सम्मान गर्ने योजना रहेपनी जाजारकोट र रुकुमपश्चिमका उद्यमीहरुको तोकिएको प्रक्रिया पूरा नभएकाले अहिले आठ जिल्लाका उद्यमीलाई पुरस्कृत गरीएको बताउदै बाँकी दुई जिल्लाका उद्यमीलाई पनि छिट्टै आवश्यक प्रक्रिया पूरा गरी सम्मान गरिने जानकारी दिनुभयो । मन्त्री भण्डारीले आगामी बजेटमा प्रदेश सरकारले प्रदेशभरका प्रत्येक स्थानीय तहमा यसखाले कार्यक्रम लागु गर्ने र यदि कुनै समस्या आए निर्वाचन क्षेत्रसम्म भएपनी कार्यक्रम विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकारीहरूले पनि आगामी बजेट निर्माणमा पूर्वाधारका साथै मानव संसाधन विकासलाई पनि विशेष प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले प्रदेश सरकारले महिला उद्यमशीलतालाई अझै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रमले कर्णाली प्रदेशका उद्यमशील महिलाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ ।