नवराज रोकाय
२५ फागुन, सुर्खेत – नेपाल पिक्चर लाइब्रेरीले ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ नामक फोटो प्रदर्शनीको दोस्रो चरणअन्तर्गत सुर्खेतको विरेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ। वीरगंज र जनकपुरमा प्रदर्शनीले सफलता प्राप्त गरेपछि यही फागुन २६ देखि २८ गतेसम्म सुर्खेतको घण्टाघर क्षेत्रमा प्रदर्शनी गरिने जनाइएको छ।
प्रदर्शनीमार्फत नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदान उजागर गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ। दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नताका माध्यमबाट नेपालका महिलावादी इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य यस परियोजनाले बोकेको आज पत्रकार सम्मेलन मार्फत जनाइएको हो । नेपाल पिक्चर लाइब्रेरीले २०७५ मा सुरु गरेको परियोजना २०८० मा पुस्तकका रूपमा पनि प्रकाशित भएको प्रेश विज्ञप्ति मार्फत जनाइएको छ ।
आयोजक नेपाल पिक्चर लाइब्रेरीका अनुसार यो प्रदर्शनी काठमाडौं, नयाँ दिल्ली, कोची, इस्तानबुल, सिंगापुर, ब्रेडा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानहरूमा गरिसकेको छ। नेपालभित्र भने यो प्रदर्शनी विभिन्न चरणमा जिल्लागतरुपमा आयोजना गरिनेछ। दोस्रो चरणअन्तर्गत सुर्खेतपछि नेपालगन्जमा पनि प्रदर्शनी गरिने बताइएको छ।
सुर्खेतमा हुने प्रदर्शनी कर्णाली आर्ट्स सेन्टरसँगको सहकार्यमा आयोजना गरिंदैछ। यसले महिला इतिहासको अभिलेखलाई स्थानीय समुदायमा पुर्याउने तथा उनीहरूको योगदानलाई सम्झना गर्ने साझा मञ्च प्रदान गर्ने आयोजक संस्थाले बताएको छ।
बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुने प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क रहेको आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ ।