चैत ९ सुर्खेत । कर्णाली भित्रिने मुख्य नाका बबईमा डिजिटल प्रविधि जडान गरिएको छ । यो प्रविधिबाट अब अन्यत्रबाट भित्रिने र कर्णालीबाट बाहिरिने सवारी साधनको निगरानी हुने भएको छ । सडक यात्रालाई सुरक्षित बनाउन र कर्णालीमा सम्भावित अपराध रोक्न नाकामा स्वचालित प्रविधि जडान गरिएको हो ।
पहिलो चरणमा कर्णाली भित्रिने मुख्य नाका बबईमा यो प्रविधि जडान भएको छ । डिजिटल प्रविधिमा आधारित स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधी जडान भएपछि अब प्रहरीलाई अपराधको अनुसन्धान गर्न सजिलो हुन भएको छ ।
यस्तै चालकलाई पनि प्रहरीको चेक पोष्टमा लामो समयसम्म गाडी रोक्नुपर्ने र इन्ट्री गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । यो प्रविधिले नाकाबाट भित्रिने र बाहिरिने गाडीको संख्या, नम्बर प्लेट, गाडीको रंग र गाडी गुडेको समय स्वचालित रुपमा रेकर्ड गर्दछ ।
यसकारण पनि अबदेखि प्रहरीले सडकमै रहेर गाडीको निगरानी, इन्ट्री र सोधपुछ गर्नुपर्ने बाध्यता हटेको हो । कर्णाली भित्रिने मुख्य नाका बबई बाट दैनिक सयौं सवारी आउजाउ गर्दछन् । हालसम्म यो नाकामा प्रहरीले चेक पोष्ट स्थापना गरेर गाडीको निगरानी गर्दै आएको छ । चेक पोष्टमा लामो समयसम्म गाडी रोक्नुपर्ने, लाइन लागेर इन्ट्री गर्नुपर्ने र प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आउन थालेपछि प्रदेश सरकारले नाकामा स्वचालित क्यामेरासहितको प्रविधि जडान गरेको छ ।
अबदेखि यही प्रविधिमार्फत मुख्य नाकामा हुने गतिविधिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट निगरानी गरिने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले अबदेखी गाडीमा चेकजाँच गरेर समय खेर नफाल्ने र गाडी रोकेर इन्ट्री पनि नगरिने बताएको छ ।
